असोज ५, काठमाडौं । पाकिस्तानमा १२ देखि १७ वर्ष उमेर समूहका करिब १५ लाख बालबालिका एक वर्षमा प्रविधिमार्फत हुने यौन शोषण तथा दुर्व्यवहारको सिकार भएको तथ्य सार्वजनिक भएको छ। युनिसेफ, को अध्ययनअनुसार पाकिस्तानका इन्टरनेट प्रयोग गर्ने बालबालिकामध्ये करिब १६ जनामा एक जना यस्तो दुर्व्यवहारमा परेको देखिएको हो।
प्रतिवेदनअनुसार अनलाइन यौन शोषणमा परेका बालबालिकामध्ये करिब ८५ प्रतिशतका अपराधी उनीहरूकै परिचित व्यक्ति थिए। अपराधीहरूले अनलाइन गेम, मित्रवत् कुराकानी, उपहार, पैसा वा प्रेमको आश्वासनमार्फत बालबालिकाको विश्वास जितेर पछि यौन सामग्री माग्ने, धम्की दिने वा ब्ल्याकमेल गर्ने गरेको अध्ययनले देखाएको छ।
अध्ययनमा करिब ७१ प्रतिशत पीडितले आफूले भोगेको घटना कसैलाई नबताएको उल्लेख छ। सर्वेक्षणमा सहभागी बालबालिकामध्ये कसैले पनि प्रहरी, हेल्पलाइन वा सामाजिक कार्यकर्ताजस्ता औपचारिक माध्यममा उजुरी नगरेको पाइएको छ। सामाजिक कलंक, लाज तथा परिवार र समाजको प्रतिक्रियाको डरले घटना लुकाउने प्रवृत्ति देखिएको हो।
त्यस्तै, रिपोर्ट भएका घटनामध्ये करिब ४४ प्रतिशत पूर्ण रूपमा अनलाइन माध्यममै भएका थिए। सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मसँगै अनलाइन गेमिङ पनि बालबालिकालाई लक्षित गर्ने माध्यमका रूपमा प्रयोग भइरहेको अध्ययनले देखाएको छ। पाकिस्तानमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ७४ प्रतिशत बालबालिका इन्टरनेट प्रयोग गर्ने भएकाले डिजिटल सुरक्षाको चुनौती अझ बढेको छ।
अध्ययनले यौन धम्की, ब्ल्याकमेल तथा कृत्रिम बुद्धिमत्ता ९एआई० प्रयोग गरेर बनाइएका नक्कली यौन सामग्रीलाई समेत नयाँ जोखिमका रूपमा औँल्याएको छ। बालबालिकामाथिको अनलाइन हिंसा रोक्न कानुन कार्यान्वयन, डिजिटल प्लेटफर्मको जवाफदेहिता, सुरक्षित रिपोर्टिङ प्रणाली र बालमैत्री न्याय प्रणाली बलियो बनाउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।
यसैबीच, पाकिस्तानको पञ्जाब प्रान्तमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि बढाइएको छ। तर डिजिटल अधिकार अभियन्ताहरूले यस्तो प्रतिबन्ध कार्यान्वयनमा चुनौती हुने र बालबालिकाको अभिव्यक्ति स्वतन्त्रतामा असर पर्न सक्ने बताएका छन्।