असोज २३ , काठमाडौं । विश्वभर ज्येष्ठ महिलामाथि हुने हिंसा, शोषण र बेवास्ताका घटना पर्याप्त रूपमा सम्बोधन हुन नसकेको भन्दै संयुक्त राष्ट्रसङ्घका एक विशेषज्ञले चिन्ता व्यक्त गरेका छन्। उनले ज्येष्ठ महिलाको सुरक्षा सुनिश्चित गर्न कानुन, तथ्याङ्क सङ्कलन र पीडितलाई सहयोग गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउन सरकारहरूलाई आग्रह गरेका छन्।
महिला तथा बालिकामाथि हुने हिंसासम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक रिम अल्सालेमका अनुसार उमेरका आधारमा हुने विभेद र लैङ्गिक असमानताका कारण ज्येष्ठ महिलामाथिको हिंसा धेरैजसो अदृश्य रहने गरेको छ। यसले उनीहरूलाई दुर्व्यवहारबारे उजुरी गर्न, आवश्यक सहयोग प्राप्त गर्न र न्याय खोज्न कठिन बनाएको छ।
राष्ट्रसङ्घको प्रतिवेदनले ज्येष्ठ महिलाले शारीरिक, मानसिक, यौन तथा आर्थिक हिंसाका साथै बेवास्ता, परित्याग, जबर्जस्ती नियन्त्रण र पेन्सन तथा सम्पत्तिको दुरुपयोगजस्ता समस्यासमेत भोग्नुपर्ने उल्लेख गरेको छ। यस्ता घटना घरपरिवार, समुदाय, हेरचाह केन्द्र तथा द्वन्द्व र मानवीय सङ्कटको अवस्थामा पनि हुन सक्ने प्रतिवेदनमा जनाइएको छ।
विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार सन् २०२० मा समुदायमा बसोबास गर्ने ६० वर्ष वा सोभन्दा माथिका करिब प्रत्येक छ जनामध्ये एक जनाले कुनै न कुनै प्रकारको दुर्व्यवहार भोगेका थिए। यद्यपि, ज्येष्ठ महिलामाथिको हिंसासम्बन्धी विश्वव्यापी तथ्याङ्क पर्याप्त नभएकाले समस्याको वास्तविक आकार पहिचान गर्न कठिन रहेको राष्ट्रसङ्घले जनाएको छ।
सन् २०२५ मा विश्वभर ६० वर्ष वा सोभन्दा बढी उमेरका महिलाको सङ्ख्या करिब ६६ करोड ४० लाख रहेको अनुमान छ। यो सङ्ख्या सन् २०५० सम्ममा एक अर्ब १३ करोड पुग्ने प्रक्षेपण गरिएको छ।
अल्सालेमले ज्येष्ठ महिलामाथि हुने हिंसालाई राष्ट्रिय कानुन तथा नीतिमा स्पष्ट रूपमा समेट्न, उमेर र लिङ्गअनुसार छुट्याइएको तथ्याङ्क सङ्कलन गर्न तथा उजुरी, सुरक्षा र न्यायमा उनीहरूको पहुँच सहज बनाउन सरकारहरूलाई आग्रह गरेकी छन्। उमेर बढ्दैमा महिलाको सम्मान, स्वतन्त्रता र हिंसामुक्त जीवनको अधिकार कमजोर हुन नहुने उनको भनाइ छ।