असोज ३० , काठमाडौं । भारतको सर्वोच्च अदालतले आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा महिला पत्रकारमाथि यौन दुर्व्यवहार तथा उत्पीडन भएको आरोपबारे केन्द्र सरकार, दिल्ली सरकार र दिल्ली प्रहरीसँग जवाफ मागेको छ।
महिला सञ्चारकर्मीहरूको संस्था ‘नेटवर्क अफ वुमन इन मिडिया’ले अक्टोबर १० मा दिल्लीमा भएको प्रदर्शनका क्रममा महिला पत्रकारमाथि दुर्व्यवहार, कुटपिट तथा मनपरी ढङ्गले नियन्त्रणमा लिइएको आरोप लगाउँदै स्वतन्त्र छानबिनको मागसहित जनहित याचिका दायर गरेको थियो।
वरिष्ठ अधिवक्ता इन्दिरा जयसिंहले महिला पत्रकारमाथि दुर्व्यवहार भएको आरोप उठाउँदै अवकाशप्राप्त महिला न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरेकी छन्। समितिमा अवकाशप्राप्त महिला प्रहरी अधिकारी तथा नागरिक समाजका प्रतिनिधिलाई पनि समावेश गर्नुपर्ने उनको प्रस्ताव छ।
यता, भारतका सोलिसिटर जनरल तुषार मेहताले महिला पत्रकारमाथि दुर्व्यवहार भएको भनिएको भिडियो कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएको हुन सक्ने दाबी गर्दै प्रहरीले अनुसन्धानपछि अदालतमा जवाफ दिने बताएका छन्। अदालतले सम्बन्धित पत्रकारविरुद्ध दायर भएको मुद्दामा थप आदेश नभएसम्म पक्राउलगायतका बलपूर्वक कारबाही नगर्न पनि निर्देशन दिएको छ।
यस घटनाले आन्दोलन तथा सार्वजनिक कार्यक्रमको समाचार सङ्कलन गर्ने पत्रकारको सुरक्षा, महिला सञ्चारकर्मीमाथि हुने सम्भावित लैङ्गिक हिंसा र प्रेस स्वतन्त्रताको संरक्षणबारे बहस थप चर्काएको छ।
Share this with your friends: