असोज ३० , काठमाडौं । विवाहित महिलाको सौन्दर्य, आत्मविश्वास र व्यक्तित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’ का प्रतिस्पर्धीहरूले राजधानीमा आयोजित ‘द ग्ल्याम नाइट’ मा आकर्षक प्रस्तुति दिएका छन्।
रिबन इन्टरटेनमेन्टको आयोजनामा भएको फेसन शो प्रतियोगिताको तयारीअन्तर्गत आयोजना गरिएको हो। आगामी कात्तिक १४ गते हुने प्रतियोगिताका प्रतिस्पर्धीहरूले तीन फरक पहिरनमा र्याम्प वाक गर्दै आफ्नो शैली, व्यक्तित्व र प्रस्तुति क्षमता प्रदर्शन गरेका थिए।
कार्यक्रममा अभिनेता राजेश हमाल, रमेश उप्रेती, जितु नेपाल, प्रमोद अग्रहरी, अभिनेत्री रेखा थापा, पूजा शर्मा, सुपुष्पा भट्ट तथा गायक आनन्द कार्कीलगायत कलाकार सहभागी थिए।
फेसन शोमा ब्राइडल, निभिया र गाउन गरी तीन सिक्वेन्स प्रस्तुत गरिएको थियो। ब्राइडल सिक्वेन्समा प्रतिस्पर्धीहरूले परम्परागत दुलही पहिरनमार्फत नेपाली संस्कृति र सौन्दर्य झल्काएका थिए। निभिया सिक्वेन्समा व्यक्तिगत हेरचाह र सौन्दर्यसँग सम्बन्धित ब्रान्डलाई फेसनसँग जोडिएको थियो भने गाउन सिक्वेन्समा उनीहरूले आत्मविश्वास, व्यक्तित्व र र्याम्पमा हिँड्ने कला प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रतियोगिताका पूर्वविजेताहरूले पनि र्याम्प वाक गरेका थिए। अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, पूजा शर्मा र सुपुष्पा भट्टले प्रतियोगिताका विजेताले लगाउने ताज सार्वजनिक गरेका थिए।
गायक आनन्द कार्कीले आफ्ना चर्चित गीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय बनाएका थिए भने हास्य कलाकार जितु नेपालले समसामयिक विषयमा हास्यव्यङ्ग्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका थिए।
प्रतियोगिताले विवाहित महिलाको आत्मविश्वास, प्रतिभा, व्यक्तित्व र फेसनसम्बन्धी क्षमतालाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ।