असोज २९ , काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई सातासमेत नपुग्दै गुन्जन शाह ठकुरीलाई पदबाट फिर्ता बोलाएको छ।
राखेपले असोज १८ गते गुन्जनलाई क्यानको सदस्यमा मनोनीत गरेको जानकारी सार्वजनिक गरेको थियो। तर, असोज २८ गते सदस्यसचिवस्तरीय निर्णय गर्दै उनलाई उक्त जिम्मेवारीबाट हटाइएको हो।
राखेपको संघसंस्था समन्वय शाखाले पठाएको पत्रमा नेपाल क्रिकेट संघको विधानको परिच्छेद २, धारा ३ को उपधारा ४ अनुसार उनलाई सदस्य पदबाट फिर्ता गरिएको उल्लेख छ। उक्त पत्र क्यानलाई समेत पठाइएको छ।
यसअघि नयाँ सरकार गठन भएपछि राखेपले छुम्बी लामालाई क्यानको सदस्य पदबाट फिर्ता बोलाएर उनको स्थानमा गुन्जनलाई मनोनीत गरेको थियो। तर, छोटो समयमै उनलाई पनि पदबाट हटाइएको छ।
गुन्जन यसअघि निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको स्वकीय सचिवका रूपमा कार्यरत थिइन्।
राखेपले गुन्जनलाई पदबाट फिर्ता बोलाउनुको स्पष्ट कारण भने सार्वजनिक गरेको छैन। उनीसँगै ब्याडमिन्टन, सुटिङ, पौडी र साइक्लिङ संघका केही सदस्यलाई पनि पदबाट फिर्ता बोलाइएको छ।
Share this with your friends: