असोज ३० , काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोकमरी अन्त्य गर्दै नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न सरकारले दिगो खाद्य सुरक्षा नीति अवलम्बन गरेको बताएकी छन्।
४६औँ विश्व खाद्य दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले नेपालको संविधानको धारा ३६ ले सुनिश्चित गरेको खाद्यसम्बन्धी हक कार्यान्वयन गर्न विभिन्न कानुन, नीति तथा योजनामार्फत काम भइरहेको जानकारी दिइन्। कृषि विकास रणनीति, खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, सोह्रौँ आवधिक योजना र खाद्य प्रणाली रूपान्तरण रणनीतिमार्फत सरकारले खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य लिएको उनको भनाइ छ।
कृषि भूमिको संरक्षण, उपलब्ध भूमिको उचित उपयोग तथा अनुसन्धान र प्रविधिको विस्तारमार्फत कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र विविधतायुक्त बनाउने सरकारको प्राथमिकता रहेको उनले बताइन्। यसबाट कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी नागरिकलाई पर्याप्त तथा पोषणयुक्त खाद्यान्न उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्री चौधरीले जलवायु परिवर्तन, प्राकृतिक विपद्, कृषि भूमिको क्षयीकरण र खाद्यान्न आयातमा देखिएका परिवर्तनले नेपालको खाद्य सुरक्षा तथा खाद्य सम्प्रभूतामा चुनौती थपेको उल्लेख गरिन्। यी चुनौती सामना गर्न जलवायु अनुकूल कृषि प्रविधि, स्थानीय तथा रैथाने बालीको संरक्षण, डिजिटल कृषि र नवीन प्रविधिलाई प्राथमिकता दिइएको उनले बताइन्।
विश्व भोकमरी सूचकाङ्कमा नेपाल १४.८ अङ्कसहित ७२औँ स्थानमा रहेको र पाँच वर्षमुनिका करिब २६ प्रतिशत बालबालिकामा पुड्कोपन देखिएको तथ्याङ्कले पोषण सुरक्षाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।
दिगो खाद्य प्रणाली निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, सहकारी, विकास साझेदार तथा किसानबीच सहकार्य आवश्यक रहेको मन्त्री चौधरीले बताइन्।
हरेक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसको यस वर्षको राष्ट्रिय नारा ‘पोषण सुरक्षाका लागि कृषिमा नवप्रवर्तन’ रहेको छ।