असोज २९ , काठमाडौं । आमा र नवजात शिशुको स्वास्थ्य, सुरक्षा तथा अधिकार सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको छ। मन्त्रालयले ‘मातृ शिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको हो।
नयाँ निर्देशिकाले अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी र नवजात शिशुलाई प्रदान गरिने सेवा थप व्यवस्थित, प्रभावकारी र मातृशिशुमैत्री बनाउने लक्ष्य राखेको छ। यसअन्तर्गत सुत्केरी महिला र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०–१० वटा मापदण्ड निर्धारण गरिएको छ।
निर्देशिकाअनुसार सुत्केरी हुने क्रममा महिलाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। जन्मिएपछि नवजात शिशुलाई आमाकै शय्यामा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने विषयलाई पनि प्राथमिकता दिइएको छ।
त्यस्तै, आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री, वितरण तथा प्रचारप्रसारलाई नियमन गर्दै स्तनपानको संरक्षण र प्रवर्द्धन गर्ने व्यवस्था गरिएको छ।
सुत्केरी महिला र नवजात शिशु अस्पतालबाट घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श दिने र सम्भावित स्वास्थ्य समस्या पहिचान गर्न स्वास्थ्य संस्थाले सम्पर्क व्यक्ति तोक्नुपर्नेछ।
नयाँ निर्देशिकाले प्रसवदेखि सुत्केरीपछिको अवस्थासम्म आमा र नवजात शिशुलाई निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउन तथा स्तनपानका लागि अनुकूल वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Share this with your friends: