असोज ३० , काठमाडौं । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य, सुरक्षा तथा नैसर्गिक अधिकार सुनिश्चित गर्न सरकारले नयाँ निर्देशिका जारी गरेको छ। स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगलाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको हो।
यसअघि स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३ अनुसार सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित बनाउन नयाँ निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ। निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०–१० वटा मापदण्ड निर्धारण गरेको छ।
नयाँ व्यवस्थाअनुसार प्रसवका क्रममा आमाले आफूले रोजेको परिवारको सदस्यलाई साथमा राख्न पाउनेछिन्। यसले प्रसवका बेला आमाको मनोबल बढाउनुका साथै उनलाई भावनात्मक सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ।
त्यस्तै, बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्नुपर्ने र सम्भव भएसम्म जन्मिएलगत्तै स्तनपान सुरु गराउनुपर्ने व्यवस्थालाई प्राथमिकता दिइएको छ। आमाको दूध शिशुको स्वास्थ्य र पोषणका लागि महत्त्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्थामा स्तनपानमैत्री वातावरण बनाउन निर्देशिकाले जोड दिएको छ।
निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री, वितरण तथा प्रवर्द्धन नियन्त्रणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएको छ। यसबाट आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको अनावश्यक प्रचारलाई नियमन गर्दै स्तनपानलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
यसका साथै सुत्केरी आमा र नवजात शिशु अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श दिने र सम्भावित स्वास्थ्य समस्या पहिचान गर्न स्वास्थ्य संस्थाले सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ।
सुत्केरीपछिको समयमा आमाको स्वास्थ्यमा समस्या देखिन सक्ने र नवजात शिशुलाई पनि विशेष हेरचाह आवश्यक पर्ने भएकाले स्वास्थ्य सेवाको निरन्तरता महत्त्वपूर्ण हुने देखिन्छ। नयाँ निर्देशिकाले प्रसवदेखि सुत्केरीपछिको अवस्थासम्म आमा र शिशुको आवश्यकताअनुसार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।
सरकारले नयाँ निर्देशिकामार्फत मातृ तथा नवजात शिशुमैत्री स्वास्थ्य सेवा विस्तार गर्दै सुरक्षित मातृत्व, शिशुको उचित पोषण र स्तनपानको प्रवर्द्धनलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको छ।