काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन युएईको सहयोगमा आयोजित उक्त शो दुबईमा आयोजित पहिलो नेपाली फेसन शो हो । दुबईको फोर पोइन्ट्स सेराटन होटलमा छेपारो डटकमको आयोजनामा सम्पन्न उक्त शोमा १० महिला, ५ पुरुष तथा १० बालबालिका मोडल र्याम्पमा उत्रिएका थिए । सावित्रा खत्रीको कोरियोग्राफी एवं डिजाइनर तृष्णा गुरुङको सोलो डिजाइनमा आयोजित उक्त फेसन शोमा शो स्टपर मिस नेपाल–२०१४ सुविन लिम्बु, नायिका पूजना प्रधान, रजनी केसी तथा वर्षा राउतले र्याम्प तताए ।
उक्त फेसन शोमा अफिसियल मेकअप आर्टिस्ट निरु न्यौपानेको मेकअपमा ५ वटा सिक्वेन्स प्रस्तुत भए । पहिलो राउन्डमा ढाकाको फ्युजन, दोस्रोमा रेड कार्पेट गाउन, तेस्रोमा लेहेंगा, चौथोमा सांस्कृतिक एवं पाँचौंमा भ्यालेनटाइन स्पेसल विथ किड्स पहिरनमा नेपाली पहिरनको दमदार प्रस्तुति देखिन्थ्यो । नेपाली संस्कृति झल्कने पहिरन अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले यस्तो फेसन शो आयोजना गरिएको तृष्णा गुरुङ बताउँछिन् । यस्तै फेसन शो बहराइन, कतार तथा नेपालमा पनि हुँदैछ ।