असोज ३० , काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी नवनियुक्त कप्तान स्मृति मन्धनाले टोलीमा व्यावसायिक संस्कृतिलाई थप मजबुत बनाउने लक्ष्य अघि सारेकी छन्। अभ्यास, खेलाडीको स्वास्थ्य र आरामदेखि खेलको तयारीसम्म सबै पक्षमा अनुशासित र व्यवस्थित प्रणाली विकास गर्ने उनको योजना छ।
मन्धनाले भारतीय क्रिकेट कन्ट्रोल बोर्डको कुराकानीमा टोलीमा व्यावसायिकताको संस्कृति पहिलेदेखि नै रहेको उल्लेख गर्दै त्यसलाई अझ प्रभावकारी र एकीकृत बनाउने आफ्नो उद्देश्य रहेको बताएकी छन्। कप्तानीको जिम्मेवारी सम्हाल्दा आफूले सुरु गरेका सकारात्मक अभ्यासलाई दीर्घकालसम्म कायम राख्न चाहेको उनको भनाइ छ।
उनको दीर्घकालीन लक्ष्य भारतलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा सबै प्रारूपमा विश्वको नम्बर एक टोली बनाउनुका साथै विश्वकप र प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिताउनु हो। तर, उनले तत्काल नतिजाको दबाब लिनुभन्दा टोलीमा साना तर निरन्तर सुधार गर्दै लक्ष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।
मन्धनाले यसअघि महिला प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलुरुको कप्तानी गर्दै दुई पटक उपाधि जितेकी छन्। अब हरमनप्रीत कौरको स्थानमा भारतीय महिला टोलीको कप्तानी सम्हाल्दै उनले आफ्नो नेतृत्वमा टोलीलाई थप प्रतिस्पर्धी बनाउने चुनौती सामना गर्दैछिन्।