असोज २१ , काठमाडौं । भारतीय महिला क्रिकेट टोलीको कप्तानी अब स्मृति मन्धानाले सम्हाल्ने भएकी छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीसीसीआई०ले उनलाई तीनवटै प्रारूपको नयाँ कप्तान नियुक्त गरेको हो।
मन्धानाले हरमनप्रीत कौरको स्थान लिएकी हुन्। हरमनप्रीतले अक्टोबर ६ मा तीनवटै प्रारूपको कप्तानीबाट अलग हुने निर्णय सार्वजनिक गरेकी थिइन्। यद्यपि, उनले खेलाडीका रूपमा भारतीय टोलीलाई निरन्तरता दिने बताएकी छन्।
सन् २०१३ देखि भारतीय टोलीमा रहेकी मन्धानाले यसअघि पनि नेतृत्वको अनुभव बटुलेकी छन्। उनले भारतका लागि १८ टी–२० अन्तर्राष्ट्रिय र चार एकदिवसीय खेलमा कप्तानी गरिसकेकी छन्। घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा पनि उनको नेतृत्व प्रभावकारी रहँदै आएको छ।
मन्धानाले हालै रोयल च्यालेन्जर्स बैंग्लोरलाई महिला प्रिमियर लिगको २०२४ र २०२६ को उपाधि जिताउन कप्तानी गरेकी थिइन्। अब उनको नेतृत्वमा भारतीय महिला टोलीले नयाँ चरण सुरु गर्ने अपेक्षा गरिएको छ।
मन्धानाको कप्तानीमा भारतले पहिलोपटक जिम्बाब्वेविरुद्ध द्विपक्षीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। अक्टोबर १६ देखि तीन टी–२० र तीन एकदिवसीय खेलको सिरिज सुरु हुँदैछ।