असोज १८ , काठमाडौं । भारतको महाराष्ट्रस्थित अमरावतीकी १७ वर्षीया तीरन्दाज कुमकुम मोहोडले एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेकी छन्। उनले महिला व्यक्तिगत रिकर्भ तीरन्दाजीमा दक्षिण कोरियाकी ओ येजिनलाई रोमाञ्चक ‘सुटअफ’मा पराजित गर्दै भारतका लागि यस स्पर्धामा पहिलो स्वर्ण जित्ने महिला खेलाडी बनेकी हुन्।
फाइनलमा दुवै खेलाडी ५–५ अंकमा बराबरी भएपछि निर्णायक एक तीर प्रहार गरिएको थियो। दक्षिण कोरियाकी खेलाडीले ८ अंक ल्याउँदा कुमकुमले उत्कृष्ट १० अंक हासिल गर्दै स्वर्ण आफ्नो नाममा गरिन्।
कुमकुमको यो एसियाली खेलकुदमा तेस्रो पदक हो। उनले यसअघि महिला टोलीतर्फ स्वर्ण र मिश्रित टोलीतर्फ रजत पदक जितिसकेकी थिइन्। यससँगै पहिलो एसियाली खेलकुदमै उनले दुई स्वर्ण र एक रजत जितेकी छन्।
कुमकुमको सफलता उनको सीमित स्रोतबाट सुरु भएको खेलयात्राको परिणाम पनि हो। उनले आठ वर्षको उमेरदेखि तीरन्दाजीको प्रशिक्षण सुरु गरेकी थिइन्। सुरुवातमा परिवारले करिब ३ हजार रुपैयाँमा काठको धनुष किनिदिएको थियो भने पछि उनले प्रयोग गरेको रिकर्भ धनुष पनि दोस्रो हातको थियो।
उनका पिता अनिल मोहोड अमरावतीमा मिठाई पसलका लागि कागजका बाकस बनाउने काम गर्छन्। आर्थिक कठिनाइका बाबजुद परिवार र प्रशिक्षकको निरन्तर सहयोगले कुमकुमलाई खेलमा अघि बढ्न मद्दत गरेको बताइएको छ।
कुमकुमले अब सन् २०२८ को लस एन्जलस ओलम्पिकलाई आफ्नो अर्को ठूलो लक्ष्य बनाएकी छन्। उनको एसियाली खेलकुदको प्रदर्शनसँगै भारतले ओलम्पिकका लागि कोटा स्थानसमेत सुरक्षित गरेको छ।