असोज १९ , काठमाडौं । भारतका केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले दिल्लीमा महिला सुरक्षाको माग गर्दै छात्राहरूले लगाएको नाराप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले समाजले महिलाको सुरक्षा र सम्मानका विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
दिल्लीमा पछिल्ला यौन हिंसाका घटनापछि छात्राहरूले विरोध प्रदर्शन गर्दै ‘एक कचोरी, दुई समोसा, इन मर्दों का क्या भरोसा’ भन्ने नारा लगाएका थिए। महिलाहरूले सार्वजनिक स्थानमा आफूहरू सुरक्षित महसुस गर्न पाउनुपर्ने र महिला सुरक्षाका लागि प्रभावकारी कदम चालिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।
यसै नारालाई उल्लेख गर्दै चौहानले यस्तो अवस्था किन सिर्जना भयो कि छोरीहरूले पुरुषमाथि अविश्वास व्यक्त गर्नुपर्ने भयो भन्ने प्रश्न गरेका छन्। उनले यस्तो नारा नै आवश्यक नपर्ने समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
चौहानका अनुसार महिलामाथि गलत नियत राख्ने व्यक्ति सधैं अपरिचित नै हुन्छ भन्ने छैन। कतिपय घटनामा पीडित महिलाका परिवार वा चिनजानकै मानिस संलग्न हुने गरेको उल्लेख गर्दै उनले समाज कुन दिशातर्फ अघि बढिरहेको छ भन्नेबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।
उनले छोरी तथा महिलाको सम्मान, मर्यादा र सुरक्षा सुनिश्चित गर्नु परिवारको मात्र नभई सम्पूर्ण समाजको जिम्मेवारी भएको बताए। पुरुष, बालक तथा अभिभावकले पनि आफ्नो व्यवहार र सोचबारे आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ।
चौहानले महिला र पुरुषबीचको विश्वास कायम नभएसम्म समाज र देशको समग्र विकास कठिन हुने भन्दै महिलाको सम्मान र सुरक्षाका लागि सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए।