असोज १९ , काठमाडौं । भारतको केरलामा स्पा म्यानेजरको जागिर दिने प्रलोभन देखाएर एक महिलालाई बोलाई लागुऔषध खुवाएर सामूहिक बलात्कार गरिएको आरोप लागेको छ। घटना कोचीको कलामासेरी क्षेत्रमा अक्टोबर २ मा भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा चार जना संलग्न रहेको आरोप छ। उनीहरूले महिलालाई बेहोस बनाउने पदार्थ खुवाएर यौन हिंसा गरेको र घटनाको भिडियोसमेत खिचेको आरोप छ। पीडित महिलाले घटनाबारे आफ्ना श्रीमान्लाई जानकारी दिएपछि प्रहरीमा उजुरी दिएकी थिइन्।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले श्रीराज र जितु नाम गरेका दुई जनालाई पक्राउ गरेको छ। दुवैलाई अदालतमा उपस्थित गराइएपछि न्यायिक हिरासतमा पठाइएको प्रहरीले जनाएको छ। घटनामा एक महिलासहित अन्य दुई जना पनि संलग्न रहेको हुन सक्ने भएकाले उनीहरूको खोजी भइरहेको छ।
घटनापछि पीडित महिला अस्पतालमा उपचाररत छन्। प्रहरीले घटनाको सम्पूर्ण विवरण र प्रत्येक आरोपीको भूमिकाबारे अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार आरोपीमध्ये एक जनाले स्पा सञ्चालन गर्दै आएका थिए। जागिरको अवसर देखाएर महिलालाई लक्षित गरिएको हुन सक्ने भएकाले घटनामा संलग्न समूह तथा स्पासँग जोडिएका गतिविधिबारे समेत अनुसन्धान अघि बढाइएको छ।