असोज २५ , काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदी थुनिएर आएको भीषण बाढीले चारदेखि पाँचवटा बस्ती बगाएको छ। बाढीले स्थानीयका घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आज बिहान करिब साढे ३ बजे चुमनुब्री गाउँपालिका–६, चुमचेत क्षेत्रमा सुक्खा पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि अचानक भीषण बाढी आएको हो।
बाढी वडा नम्बर ६ बाट आएको भए पनि बढी क्षति वडा नम्बर ३ का बस्तीमा पुगेको छ। गुरुङका अनुसार घट्टेखोला, पैयु, सल्लेरी र जगत बगरका बस्ती बाढीले बगाएको छ।
बाढी आउनुअघि स्थानीयले बस्ती छाडेकाले अहिलेसम्म मानवीय क्षति भएको सूचना प्राप्त नभएको उपाध्यक्ष गुरुङले बताएकी छन्। यद्यपि, प्रभावित क्षेत्रमा पुग्न नसकिएकाले वास्तविक क्षतिको विवरण सङ्कलन हुन सकेको छैन।
बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रमा रहेका सवारीसाधन, परियोजनाका भवन तथा अन्य संरचनामा समेत क्षति पुगेको छ। नदीमा रहेका केही पुलमा पनि क्षति भएको बताइएको छ।
बाढीले बगाएका बस्तीमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। प्रभावित क्षेत्रको अवस्था र भौतिक क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम चुनौतीपूर्ण बनेको छ।