असोज २५ , काठमाडौं । पेय पदार्थ ब्रान्ड क्याम्पाले नेपाली अभिनेत्री आँचल शर्मालाई नेपालका लागि आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिअन्तर्गत कम्पनीले शर्मासँग सहकार्य अघि बढाएको हो।
युवा उपभोक्तामाझ आफ्नो पहुँच बढाउने लक्ष्यसहित क्याम्पाले नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रमा लोकप्रिय रहेकी शर्मालाई ब्रान्डको प्रतिनिधिका रूपमा चयन गरेको जनाएको छ। अभिनेत्री शर्माको लोकप्रियता र सामाजिक सञ्जालमा रहेको प्रभावले ब्रान्डको प्रचारप्रसार तथा उपभोक्तासँगको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।
नेपालमा प्रवेश गरेदेखि नै युवा, ऊर्जाशील र सहज पहुँच भएको ब्रान्डका रूपमा पहिचान बनाउने प्रयासमा रहेको क्याम्पाले शर्मासँगको सहकार्यबाट बजार विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरेको छ।
ब्रान्ड एम्बासडर नियुक्त भएपछि प्रतिक्रिया दिँदै अभिनेत्री शर्माले क्याम्पासँग आबद्ध हुन पाउँदा उत्साहित र गौरवान्वित भएको बताएकी छन्। उनले क्याम्पाको युवा, साहसी र ऊर्जाशील व्यक्तित्वसँग आफूलाई स्वाभाविक रूपमा जोडिएको महसुस गरेको उल्लेख गर्दै ब्रान्डको ऊर्जा र भावनालाई प्रतिनिधित्व गर्न पाउनु खुसीको विषय भएको बताइन्।
नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेकी शर्मासँगको सहकार्यले क्याम्पालाई युवा पुस्तामाझ थप परिचित गराउने अपेक्षा गरिएको छ।