साउन ३१ ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद श्रद्धा कुँवरले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नागरिक चेतना, जिम्मेवारी र मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रविधिको विकाससँगै मानिसहरू अभिव्यक्तिमा त स्वतन्त्र बन्दै गए पनि मानवीय मूल्य र संस्कार कमजोर हुँदै गएको उल्लेख गरेकी छन्।
‘सञ्जालले सहज बनाएको हाम्रो अभिव्यक्ति र त्यही सञ्जालले जन्माएको हाम्रो राक्षसी मानसिकता देख्दा कहिलेकाहीँ लाग्छ, हामीले प्रविधि त धेरै छिटो सिक्यौँ, तर मान्छे भएर बाँच्न भने बिर्सिंदै गयौँ,’ उनले लेखेकी छन्।
उनले उमेर, परिवेश र जीवनका अनुभवले मानिसको सोच र दृष्टिकोण परिवर्तन हुने उल्लेख गर्दै आजको समाजमा आवश्यक विषयमा ध्यान केन्द्रित भइरहेको छ कि अरूको जीवनमाथि टिप्पणी गर्नमै समय खर्च भइरहेको छ भन्ने प्रश्न उठाएकी छन्।
देशको विकास केवल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित हुन नसक्ने उनको भनाइ छ। शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिक चेतना र जिम्मेवारीबोधलाई समान रूपमा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएकी छन्।
सांसद कुँवरले अधिकार र स्वतन्त्रताको प्रयोगसँगै जिम्मेवारीलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताएकी छन्। ‘हामी साँच्चिकै स्वतन्त्र हुँदैछौँ कि केवल आफ्ना शब्दहरूलाई स्वतन्त्र बनाउँदैछौँ रु हामी साँच्चिकै चेतनशील हुँदैछौँ कि अरूको जीवनमा निर्णय सुनाउन मात्र अभ्यस्त हुँदैछौँ रु’ उनले प्रश्न गरेकी छन्।
उनले स्वतन्त्रताको अर्थ आफ्नो विचार व्यक्त गर्ने अधिकार मात्र नभई अरूको अस्तित्वलाई सम्मान गर्ने संस्कार पनि भएको स्पष्ट पारेकी छन्।
समाज परिवर्तनको कुरा गर्ने तर आफूलाई परिवर्तन गर्न नचाहने प्रवृत्ति खतरनाक हुने उल्लेख गर्दै उनले वास्तविक परिवर्तनको सुरुवात व्यक्तिबाटै हुनुपर्ने धारणा व्यक्त गरेकी छन्।
समाजलाई सकारात्मक दिशामा अघि बढाउन नागरिकले आफ्नो व्यवहार, सोच र जिम्मेवारीप्रति सचेत हुनुपर्ने उनको निष्कर्ष छ।