असोज २५ , काठमाडौं । बेलायती राजपरिवारकी सदस्य मेघन मार्कल र नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईले बालिकाको शिक्षामा सहयोग पुर्याउन सहकार्य गर्ने घोषणा गरेका छन्।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर उनीहरूले बालिकालाई निःशुल्क, सुरक्षित र गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यसहित नयाँ साझेदारी सार्वजनिक गरेका हुन्।
अक्टोबर ७ मा बेलायतको लन्डनस्थित क्लारिज होटलमा भेट गरेका मेघन र मलालाले अक्टोबर ११ मा सामाजिक सञ्जालमार्फत संयुक्त तस्बिर सार्वजनिक गर्दै सहकार्यबारे जानकारी दिएका हुन्।
यस साझेदारीमा मेघन र उनका पति प्रिन्स ह्यारीको गैरनाफामूलक संस्था आर्कवेल फिलान्थ्रोपिज, मेघनको जीवनशैलीसम्बन्धी ब्रान्ड ‘एस एभर’ र मलाला फन्ड सहभागी छन्।
सहकार्यअन्तर्गत ‘एस एभर’ का जाम र चियाको बिक्रीबाट प्राप्त हुने शुद्ध आम्दानीको शतप्रतिशत रकम मलाला फन्डलाई सहयोग गरिने जनाइएको छ। उक्त रकम बालिकाले सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने अभियानमा खर्च गरिनेछ।
मेघन र मलालाले बालिकालाई आज अवसर दिनु भनेको भोलिका महिलालाई सशक्त बनाउनु भएको सन्देश पनि दिएका छन्।
विश्वका विभिन्न क्षेत्रमा अझै पनि गरिबी, बालविवाह, लैङ्गिक विभेद र शैक्षिक अवसरको अभावका कारण लाखौँ बालिका शिक्षाबाट वञ्चित भइरहेका छन्। यस्तो अवस्थामा प्रभावशाली व्यक्तित्व र संस्थाबीचको सहकार्यले बालिकाको शिक्षासम्बन्धी अभियानलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बालिकाको शिक्षामा लगानी गर्नु उनीहरूको व्यक्तिगत भविष्यका लागि मात्र नभई समग्र समाजको विकासका लागि पनि महत्त्वपूर्ण मानिन्छ।