असोज ४, काठमाडौं । पालका सामाजिक आन्दोलनमा सक्रिय १३ महिला नेतृको जीवन, संघर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक सार्वजनिक गरिएको छ।
‘साझा सपना, संघर्षका तानाबाना’ शीर्षकको पुस्तक शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको हो। पुस्तकमा विभेदविरुद्ध आवाज उठाएका, समुदाय संगठित गरेका तथा अधिकार, सम्मान र सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाका अनुभव समेटिएका छन्।
पुस्तकमा बादी समुदायको अधिकार आन्दोलनमा भूमि, अधिकार र सम्मानका लागि संघर्ष गरेकी उमादेवी बादीको कथालाई समेटिएको छ। त्यस्तै, एसिड आक्रमणबाट बचेकी मुस्कान खातुनले न्याय र सम्मानका लागि अघि बढाएको संघर्षलाई पनि पुस्तकमा दस्तावेज गरिएको छ।
त्यसैगरी, सार्वजनिक स्मृतिबाट क्रमशः ओझेलमा पर्दै गएको सिनो बहिष्कार आन्दोलनमा सहभागी महरीदेवी, भोला देवी र चन्देश्वरी सदालगायत महिलाका अनुभव पनि पुस्तकमा समावेश छन्। उनीहरूले जातीय विभेदविरुद्ध आवाज उठाउँदै समानता र सम्मानका लागि गरेको संघर्षलाई पुस्तकले प्रस्तुत गरेको छ।
पुस्तक विमोचन कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाका अनुभव र संघर्षलाई दस्तावेज गर्नु महिला अधिकारको आन्दोलनकै महत्वपूर्ण हिस्सा भएको बताइन्। महिलाका संघर्ष र आवाजमाथि प्रश्न उठाइने गरेको समाजमा उनीहरूकै दृष्टिकोणबाट इतिहास अभिलेखीकरण गर्नुपर्ने उनको भनाइ थियो।
पुस्तक सार्वजनिकपछि ‘महिला नेतृ र सामाजिक आन्दोलन स् अनुभव र अभ्यास’ विषयमा छलफलसमेत आयोजना गरिएको थियो। छलफलमा सामाजिक अभियन्ता, अध्येता, अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
भोइसेज अफ वुमन मिडियाले प्रकाशन गरेको पुस्तकले नेपालका सामाजिक आन्दोलनमा महिलाले निर्वाह गरेको भूमिका र सामाजिक परिवर्तनमा उनीहरूको योगदानलाई अभिलेख गर्ने उद्देश्य राखेको छ।