माघ २, काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संघ र प्रदेश सरकारले स्थानीय तहको क्षमता विकासमा सहयोग गर्नुपर्ने बताएकी छन्। आज (बुधबार) ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित महानगरले आयोजना गरेको २७ औँ भूकम्प स्मृति सभामा उनले यस्तो बताएकी हुन्।
विपदमा संरचनागत जोखिमका सन्दर्भमा कुरा गर्दै उनले आधुनिकताको उच्च उपयोग भइरहेको वर्तमान सन्दर्भमा रैथाने निर्माण सामग्री र विधिको वहस चलिरहेको र यस वहसलाई गम्भीरताका साथ लिनुपर्ने पनि बताइन्।
उनले भनिन्,‘विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ, नागरिकको आँगनको सरकारले यो काम गर्छन्, संघ र प्रदेश सरकारले स्थानीय तहको क्षमता विकासमा सहयोग गर्नुपर्छ, यस कोणबाट सबै तहका सरकारको समान भूमिका छ।’
उनका अनुसार महानगरपालिकाले विपद् उत्थानशील सहर बनाउन विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवं पुनर्लाभका लागि वडा विपद व्यवस्थापन समितिलाई सक्रिय बनाइएको छ। स्थानीय आकस्मिक कार्य सञ्चालन केन्द्र स्थापना पनि गरिएको छ।
कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा।भीष्मकुमार भुषालले १९९० सालको भूकम्पपछिको पुनःस्थापनाको विषयमा धारणा राख्दै भने,‘त्यस बेला कूटनीतिक क्षेत्रबाट व्यवस्थापनका लागि सहयोग के चाहिन्छ भनेर सोद्धा सरकारबाट जवाफमा हामी लिन जन्मेका होइनौँ, दिन जन्मेका हौँ, हामीलाई हाम्रा नागरिकमाथि भरोसा छ, नागरिककै क्षमताले पुनःस्थापना हुन्छ, भनिएको थियो, सुन्दा सामान्य लागे पनि यो भनाइ मननीय छ।’
१९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ। विगतका बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो।