भदौ २१, काठमाडौं। पहेँलो धातुु सुनको मूल्य नेपाली बजारमा बुधबार पनि बढेको छ । मंगलबारसम्म प्रति तोला ५७ हजार ३०० रुपैयाँ रहेको फाइन गोल्डको मूल्य बढेर बुधबार प्रति तोलामा २०० रुपैयाँ वृद्धि भई ५७ हजार ५०० पुुगेको हो।
यहीकारण पछिल्लो ६ दिनमै प्रति तोला सुनको मूल्यमा १५०० रुपैयाँले बढिसकेको छ । यसरी ६ दिनको अवधिमा सुनबाट लगानीकर्ताले करिब ३ प्रतिशतको हाराहारीमा रिटर्न पाएका छन् ।
सोमबार सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ वृद्धि भई प्रतितोला ५७ हजार ३ सय कायम भयो ।
भदौ १५ गते सुनको भाउ प्रतितोला ५६ हजार रहेको थियो । त्यसपछि हरेक दिनजसो बढ्दै भदौ २१ गते (बुधबार)सम्म आइपुुग्दा सुनको भाउ तोलामा १ हजार ५ सयले बढिसकेको छ ।
भदौ १ गते सुनको भाउ प्रतितोला ५५ हजार ५ सय रुपैयाँ रहेको थियो । यसरी भदौमा मात्र सुनको भाउ प्रतितोलामा २ हजारले वृद्धि भइसकेको छ ।
बुधबार कायम सुनको भाउ यो वर्षकै मात्र नभई गत १४ महिनाकै उच्च हो । चाँदीको मूल्य भने मंगलबारकै कायम छ । भदौ १५ गते प्रति तोला ७६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी त्यसपछि प्रत्येक दिनजसो वृद्धि भई मंगलबारसम्म आइपुुग्दा ७ सय ९० रुपैयाँ कायम भएको हो, बुधबार पनि यही विन्दूमा अडियो ।