web image
साउन २४ ,काठमाडौं । राजधानीका युवती तथा महिलाहरूको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘क्यापिटल क्विन नेपाल २०२६’ को उपाधि अनिशा खड्काले जितेकी छन्। हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा शनिबार राजधानीमा सम्पन्न प्रतियोगिताको दशौं संस्करणमा अनिता थापा अर्याल प्रथम उपविजेता र अस्मिता तिमिल्सिना द्वितीय उपविजेता घोषित भए।
विभिन्न पेशामा संलग्न विवाहित तथा अविवाहित महिलाहरू सहभागी रहेको उक्त प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई करिब तीन हप्तासम्म विशेष प्रशिक्षण दिइएको थियो। वरिष्ठ फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षण तथा निर्देशनमा व्यक्तित्व विकास, सार्वजनिक बोल्ने कला, क्याटवाक, फोटो तथा भिडियो सुटलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। साथै आकर्षक उद्घाटन नृत्यसमेत प्रस्तुत गरिएको थियो।
प्रतियोगिताका विभिन्न चरण पार गर्दै अन्तिम प्रश्न–उत्तर चरणका आधारमा विजेता तथा उपविजेताहरू चयन गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विभिन्न विधामा उपाधिहरू पनि प्रदान गरिएको थियो। मिमिता थापाले ‘मोस्ट स्मार्ट’, अस्मिता तिमिल्सिनाले ‘मोस्ट एक्टिभ’, अनिशा खड्काले ‘मोस्ट डायनामिक’ र अनिता थापा अर्यालले ‘मोस्ट कन्फिडेन्ट’ उपाधि जिते। त्यस्तै, नविना कुमारी ओली ‘बेस्ट फोटोजेनिक’ र ‘मोस्ट पपुलर’, प्रेमिशा गजमेर ‘बेस्ट ट्यालेन्ट’, पवित्रा गोले ‘बेस्ट पर्सनालिटी’ र अञ्जना श्रेष्ठ ‘मोस्ट चार्मिङ’ घोषित भइन्। सबिता तोलानी ‘मोस्ट डेडिकेटेड’ र प्रविना कुमाल ‘मोस्ट डिलिजेन्ट’ तथा ‘बेस्ट मल्टिमिडिया’ घोषित भए।
कार्यक्रमको निर्णायक मण्डलमा मिसेस ग्लोबल नेपाल २०२६ सब्या महर्जन, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा, क्यापिटल क्विन नेपाल २०२३ लक्ष्मी भुसाल, मिस्टर ह्यान्डसम नेपाल तथा मोडेल अभिषेक खड्का र अभिनेत्री गीता अधिकारी रहेका थिए।
आयोजकका अनुसार राजधानीमा बसोबास गर्ने महिलाहरूमा निहित प्रतिभा र क्षमता उजागर गर्ने मुख्य उद्देश्यसहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
Share this with your friends: