साउन २५ ,काठमाडौं । ‘मिस नेपाल’ लुना लुइँटेल यस वर्षको प्रतिष्ठित ‘मिस वर्ल्ड’ प्रतियोगितामा सहभागी हुन हाल भियतनाम पुगेकी छन्। प्रतियोगिताको ७३औँ संस्करण अगस्ट ९ देखि सेप्टेम्बर ५ सम्म भियतनामका विभिन्न सहरमा आयोजना हुँदैछ। भियतनामले पहिलोपटक यो विश्वस्तरीय सौन्दर्य प्रतियोगिता आयोजना गरेको हो।
यस संस्करणमा करिब १३० देश तथा क्षेत्रका प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा सहभागी हुनुअघि लुनाले आफूले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको बताएकी छन्।
मिस वर्ल्डका प्रमुख फास्ट(ट्र्याक इभेन्टहरू—ट्यालेन्ट, स्पोर्ट्स च्यालेन्ज, टप मोडल, हेड टु हेड, ब्यूटी विथ पर्पस र मल्टिमिडियाका लागि उनले नेपाल र भारतमा विशेष प्रशिक्षण लिएकी थिइन्। नेपाल ‘ब्यूटी विथ पर्पस’ र मल्टिमिडिया विधामा बलियो दाबेदार मानिए पनि आफूले कुनै अतिरिक्त दबाब नलिएको लुनाले स्पष्ट पारिन्।
‘ब्यूटी विथ पर्पस’ अन्तर्गत लुनाले पर्वतको फलेवासमा सञ्चालन गरिएको दुना–टपरी उत्पादन, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित परियोजना प्रस्तुत गर्दैछिन्। उक्त परियोजनामा झन्डै डेढ करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिइन्।
लुनाका अनुसार मिस वर्ल्ड केवल सौन्दर्यको प्रतिस्पर्धा नभई उद्देश्य र सामाजिक प्रभावको प्रतिस्पर्धा हो। ‘जित–हार प्राविधिक विषय हो, तर यसको मुख्य उद्देश्य समाजमा योगदान पुर्याउनु हो,’ उनले भनिन्।
गतसाता दीपमाला ढकालले ‘मिस नेपाल’ उपाधि जितेसँगै लुनाको एकवर्षे कार्यकाल समाप्त भएको छ। आफ्नो कार्यकालमा धेरै सिक्ने अवसर पाएको उल्लेख गर्दै उनले ‘ब्यूटी विथ पर्पस’ परियोजनामार्फत समाजसँग नजिकिने अवसर पाएको बताइन्।
लुनाले आफू शारीरिक, मानसिक तथा भावनात्मक रूपमा मिस वर्ल्डका लागि पूर्ण रूपमा तयार रहेको बताएकी छन्। ‘म शाकाहारी हुँ, त्यसैले आहार व्यवस्थापनमा केही चुनौती हुन सक्छ,’ उनले भनिन्।
उनका लागि मिस वर्ल्डको मुकुट जित्नु मात्र लक्ष्य नभई त्यसमार्फत देशको प्रतिनिधित्व गर्नु अझ महत्वपूर्ण रहेको छ। साथै, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने प्रतिनिधिहरूलाई सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले अन्य देशहरूमा यस्ता प्रतियोगिताका लागि सरकारी सहयोग हुने अनुभव सुनाइन्।
अस्ट्रेलियाको सिड्नीमा नर्सिङ अध्ययनरत लुनाले मिस वर्ल्डपछि केही वर्ष त्यहाँ अध्ययन पूरा गर्ने र त्यसपछि नेपाल फर्केर आफ्नो ज्ञान तथा अनुभवलाई देशमै प्रयोग गर्ने योजना रहेको बताइन्। ‘सिक, कमाउ र फर्क’ भन्ने नारासहित उनी मिस नेपालमा सहभागी भएकी थिइन्।