web image
भदौ २३, काठमाडौं । अमेरिकाको ९९औँ ‘मिस अमेरिका’को उपाधि जित्दै टेक्सासकी रेगन हटसेलले नयाँ इतिहास रचेकी छन्। सेप्टेम्बर ६ मा सम्पन्न प्रतियोगितामा विजेता बनेकी हटसेल प्राकृतिक घुम्रिएको कपालमै मिस अमेरिकाको ताज पहिरिने पहिलो प्रतिस्पर्धी बनेकी हुन्।
प्रतियोगिताका क्रममा आफ्नो कपाललाई सीधा बनाउने कि प्राकृतिक अवस्थामै राख्ने भन्नेमा आफू अन्योलमा रहेको हटसेलले बताएकी छन्। केही वर्षअघि कपाल सीधा बनाउँदा त्यसको प्राकृतिक बनावटमा असर परेको अनुभवका कारण अन्ततः उनले आफ्नो घुम्रिएको कपाललाई नै जस्ताको तस्तै प्रस्तुत गर्ने निर्णय गरेकी थिइन्।
प्राकृतिक कपालसहित प्रतियोगितामा सहभागी हुने निर्णयले सौन्दर्यका परम्परागत मापदण्डभन्दा बाहिर निस्कन आफूलाई प्रेरित गरेको उनको भनाइ छ। उनले आफ्नो जितले बालबालिका तथा युवतीलाई आफ्नो प्राकृतिक स्वरूप स्वीकार गर्न र आत्मविश्वासका साथ प्रस्तुत हुन प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन्।
हटसेलले आफू मिस अमेरिकाका रूपमा प्राकृतिक कपालमा प्रस्तुत हुने पहिलो अश्वेत महिला हुन पाउनु महत्वपूर्ण उपलब्धि भएको बताएकी छन्। उनले विभिन्न पृष्ठभूमि, प्राकृतिक कपाल र विविधता बोकेका महिलाको प्रतिनिधित्व बढाउन आफूले भूमिका खेल्न चाहेको उल्लेख गरेकी छन्।
आफ्नो एक वर्षे कार्यकालमा मानिसमा आशा जगाउनु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताएकी छन्। जीवनमा खानेकुरासम्बन्धी समस्या, दुई पटक घुँडाको शल्यक्रिया तथा अन्य कठिन परिस्थितिको सामना गरेकी हटसेलले कठिन समयपछि पनि नयाँ सम्भावनाको बाटो खुल्ने विश्वास व्यक्त गरेकी छन्।
यस वर्ष अमेरिकाका तीन प्रमुख सौन्दर्य प्रतियोगिता मिस अमेरिका, मिस युएसए र मिस ग्रान्ड युएसए तीनै उपाधि अश्वेत महिलाले जितेका छन्। हटसेलले यसलाई अमेरिकाको सांस्कृतिक विविधता र महिलाको प्रतिनिधित्वका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताएकी छन्।
Share this with your friends: