भदौ ९ , काठमाडौं । भियतनाममा जारी मिस वर्ल्ड २०२६ प्रतियोगितामा नेपालबाट मिस नेपाल लुना लुइँटेलले प्रतिस्पर्धा गरिरहेकी छन्। विश्वका विभिन्न देशका १११ जना सुन्दरी सहभागी प्रतियोगितामा लुनाले नेपाललाई प्रतिनिधित्व गरिरहेकी हुन्।
प्रतियोगिताका हेड टु हेड, टप मोडल र स्पोर्ट्स विधामा नेपालले उपाधि जित्न सकेन। तर, लुना ट्यालेन्ट राउन्डका २३ फाइनलिस्टमा स्थान बनाउन सफल भएकी छन्। ट्यालेन्ट विधामा उपाधि जित्न सके उनले मिस वर्ल्डको अन्तिम ४० मा सोझै प्रवेश गर्ने अवसर पाउनेछिन्। यसलाई प्रतियोगितामा नेपालको अहिलेसम्मकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
मिस वर्ल्डको मतदान विवरणअनुसार लुना एसिया तथा ओसियाना क्षेत्रको ‘पिपुल्स च्वाइस’ विधामा २५ हजार ३१९ मतसहित सातौँ स्थानमा छिन्। शीर्ष स्थानमा कम्बोडिया रहेकाले लुनालाई अगाडि बढाउन थप मत आवश्यक देखिएको छ।
यसैबीच, नेपालको मुख्य ध्यान अहिले ‘ब्युटी विथ पर्पस’ विधामा केन्द्रित छ। लुनाले पर्वतको फलेवासमा शिक्षा, स्वास्थ्य र उद्यमशीलतासँग सम्बन्धित परियोजना प्रतियोगितामा प्रस्तुत गरिरहेकी छन्। करिब डेढ करोड रुपैयाँ लगानीमा तयार गरिएको परियोजनामार्फत सामाजिक प्रभाव देखाउँदै नेपालले यस विधाको उपाधि जित्ने अपेक्षा गरेको छ।
‘ब्युटी विथ पर्पस’ नेपालले विगतमा समेत सफलता हासिल गरेको महत्वपूर्ण विधा हो। त्यसैले लुनाले प्रस्तुत गरिरहेको परियोजनालाई नेपालको बलियो दाबेदारीका रूपमा हेरिएको छ।
ट्यालेन्ट राउन्ड र टप मोडल राउन्डको नतिजा २८ अगस्टमा सार्वजनिक हुनेछ भने मिस वर्ल्ड २०२६ को ग्रान्ड फिनाले ५ सेप्टेम्बरमा आयोजना हुनेछ।