भदौ २१, काठमाडौं । नेपाल यसवर्षको मिस वर्ल्ड प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पज’ जित्नबाट चुकेको छ। भियतनाममा सम्पन्न फिनालेमा मलेसियाकी तानूसिया चेट्टीलाई यसवर्षको ‘ब्युटी विथ अ पर्पज’ विजेता घोषणा गरिएको हो।
नेपालकी प्रतिनिधि लुना लुइँटेल एसिया तथा ओसियाना महादेशबाट फाइनलिस्ट बने पनि उपाधि जित्न भने असफल भइन्। उनले पर्वतको फलेवासस्थित दुना टपरी उत्पादन कारखाना तथा त्यससँग जोडिएको शिक्षा र स्वास्थ्य सुविधासम्बन्धी परियोजना प्रस्तुत गरेकी थिइन्।
मलेसियाकी चेट्टीले भने मलेसियाको आदिवासी समुदाय ‘ओराङ अस्ली’ का बालबालिकाको शिक्षा, मेन्टरसिप, कल्याण तथा वृत्ति विकासमा केन्द्रित परियोजना प्रस्तुत गरेकी थिइन्। उपाधि जितेसँगै उनी मिस वर्ल्डको अन्तिम ६ मा समेत प्रवेश गरेकी छन्।
नेपालका लागि ‘ब्युटी विथ अ पर्पज’ विधा विशेष महत्वको मानिन्छ। नेपालले यसअघि तीनपटक यो विधाको उपाधि जितिसकेको छ। सन् २०१३ मा इशानी श्रेष्ठ, २०१८ मा श्रृंखला खतिवडा र २०१९ मा अनुष्का श्रेष्ठले नेपालका लागि यो उपाधि जितेका थिए।
इशानीले दाँतको स्वास्थ्यसम्बन्धी ‘प्रोजेक्ट स्माइल’, श्रृंखलाले मकवानपुरको ग्रामीण क्षेत्रमा सामुदायिक विकास तथा अनुष्काले नेपालको ग्रामीण क्षेत्रमा सामुदायिक विकाससम्बन्धी परियोजना प्रस्तुत गर्दै उपाधि जितेका थिए।
यसअघि लगातार तीनपटक उपाधि जितेको नेपाल यसपटक भने ‘ब्युटी विथ अ पर्पज’मा उपाधिविहीन भएको हो। आगामी वर्ष नेपालको प्रतिनिधित्व गर्ने दीपमाला ढकालले कुन सामाजिक परियोजना प्रस्तुत गर्नेछिन् भन्नेबारे भने औपचारिक घोषणा भइसकेको छैन।