भदौ २८, काठमाडौं । मधेस प्रदेशका महिला उद्यमीहरूमा सीप भए पनि त्यसलाई व्यवस्थित व्यवसायमा रूपान्तरण गर्ने, कानुनी रूपमा दर्ता गर्ने, बजार विस्तार गर्ने र डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने ज्ञानको अभाव देखिएको छ। यही चुनौतीलाई सम्बोधन गर्दै सञ्चालन गरिएको ‘आरोही स् मेन्टरसिप, स्किल्स एन्ड कोलाबोरेसन’ कार्यक्रमले महिला उद्यमीलाई व्यवसाय विस्तारसँगै आत्मविश्वास बढाउन सहयोग गरेको सहभागीहरूले बताएका छन्।
बाराकी मेहन्दी कलाकार रसिका राउतसँग मेहन्दी बनाउने सीप र अनुभव भए पनि व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउने, कानुनी दर्ता गर्ने तथा बजार विस्तार गर्नेबारे पर्याप्त जानकारी थिएन। ‘आरोही’ कार्यक्रममा सहभागी भएपछि भने आफ्नो व्यवसायलाई नयाँ ढंगले अघि बढाउन सक्ने आत्मविश्वास बढेको उनले बताइन्।
उनका अनुसार व्यवसाय दर्तादेखि बजारीकरण र डिजिटल प्रविधिको प्रयोगसम्म प्राप्त मार्गदर्शनले आफ्नो व्यवसायलाई औपचारिक रूपमा विस्तार गर्ने बाटो देखाएको छ। विभिन्न क्षेत्रका महिला उद्यमीलाई एउटै मञ्चमा ल्याएर सहकार्य र सिकाइको अवसर प्रदान गर्नु कार्यक्रमको महत्वपूर्ण पक्ष रहेको उनको भनाइ छ।
जनकपुरधामकी गृहिणी तथा सिलाइ व्यवसायी रुबीकुमारी साहको अनुभव पनि उस्तै छ। उनले घरबाटै सिलाइ व्यवसाय सञ्चालन गर्दै आएकी थिइन्। व्यवसाय विस्तार गर्ने र नयाँ माध्यमबाट बजारसम्म पुग्ने चाहना भए पनि त्यसलाई व्यवहारमा कसरी अघि बढाउने भन्ने ज्ञानको अभाव थियो।
‘आरोही’ कार्यक्रममा सहभागी भएपछि व्यवसायसँगै व्यक्तिगत विकासमा समेत सहयोग पुगेको साहले बताइन्। कार्यक्रमले सार्वजनिक रूपमा बोल्ने, व्यावसायिक रूपमा संवाद गर्ने र कारोबारमा सम्झौता तथा वार्ता गर्ने आत्मविश्वास बढाएको उनको भनाइ छ।
उनका अनुसार यस्ता कार्यक्रमले महिलाको भूमिका घरायसी काममा मात्र सीमित नभएको सन्देश दिन्छ। महिलाले पारिवारिक जिम्मेवारीसँगै व्यवसाय सञ्चालन गर्न सक्छन् भन्ने आत्मविश्वाससमेत कार्यक्रमले बढाएको उनले बताइन्।
महोत्तरीकी चुरा व्यवसायी अनिता महतोले पनि विभिन्न तालिममार्फत सीप हासिल गरे पनि ती सीपलाई व्यवसायसँग कसरी जोड्ने भन्ने विषयमा स्पष्टता नभएको बताइन्। ‘आरोही’ कार्यक्रमले सीप मात्र भएर नपुग्ने र त्यसलाई व्यवसाय तथा उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बुझाएको उनको भनाइ छ।
मधेसका महिला उद्यमीका अनुभवले महिलामा सीपको अभावभन्दा पनि सीपलाई व्यवसायमा रूपान्तरण गर्न आवश्यक अवसर, बजार पहुँच, मार्गदर्शन र नेटवर्किङको कमी रहेको देखाएको कार्यक्रमका सहभागीहरूले बताएका छन्।
यही आवश्यकता पूरा गर्ने उद्देश्यले फिन चर्च एड ९एफसीए० नेपालले मधेस प्रदेशमा ‘आरोही स् मेन्टरसिप, स्किल्स एन्ड कोलाबोरेसन’ कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमले महिला उद्यमीले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका सामाजिक, आर्थिक तथा संरचनागत चुनौतीलाई सम्बोधन गर्दै व्यवसाय विस्तार, नेतृत्व विकास र आर्थिक सशक्तीकरणमा जोड दिएको छ।
कार्यक्रमअन्तर्गत ‘स्ट्रेन्थेनिङ बिजनेस फाउन्डेसन्स’ र ‘मेन्टरसिप वर्कसप’मार्फत सहभागीलाई लक्ष्य निर्धारण, बजार विस्तार, नेतृत्व विकास, नेटवर्किङलगायत व्यवसाय सञ्चालनका विभिन्न पक्षमा मार्गदर्शन प्रदान गरिएको छ।
एफसीए नेपालका उद्यम विकास विशेषज्ञ अष्ट प्रजापतिका अनुसार सहकार्य र एकअर्काबाट सिक्ने वातावरण निर्माण गर्दै ‘आरोही’ले महिला उद्यमीको व्यावसायिक यात्रालाई थप प्रभावकारी बनाउन योगदान पुर्याउनेछ। मधेसमा सुरु गरिएको ‘आरोही’को तेस्रो समूहले महिला उद्यमीको नेतृत्व क्षमता विकास, आर्थिक सहभागिता वृद्धि र स्थानीयस्तरमा उद्यमशीलताको वातावरण विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
कार्यक्रमकी सूचना अधिकृत नेहा शर्माका अनुसार ‘आरोही’ले महिलाको विद्यमान सीपलाई व्यवसायमा, व्यवसायलाई उद्यममा र उद्यमलाई आर्थिक आत्मनिर्भरतामा रूपान्तरण गर्ने नयाँ बाटो निर्माण गर्ने लक्ष्य राखेको छ।