असोज २, काठमाडौं । ओलम्पियन तेक्वान्दो खेलाडी संगीना वैद्य राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छन्। राखेपले बिहीबार उनलाई नियुक्तिपत्र दिएको हो। यस नियुक्तिसँगै वैद्य राखेपको करिब ६ दशक लामो इतिहासमा तालिम तथा प्रशिक्षण विभागको निर्देशक बन्ने पहिलो महिला बनेकी छन्। छनोट चरण पार गरेर ओलम्पिकमा पुग्ने पहिलो नेपाली खेलाडीका रूपमा समेत परिचित वैद्यले सन् २००४ को ग्रिस ओलम्पिकमा सहभागिता जनाएकी थिइन्।
उनले सन् १९९६ को एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै एसियालीस्तरको प्रतियोगितामा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएकी थिइन्। यस्तै, उनले सन् १९९९ काठमाडौं र २००४ पाकिस्तानमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक जितेकी छन्।
हाल उनी राखेपमा वरिष्ठ तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत थिइन्। यसअघि २०८१ सालमा पनि उनलाई तालिम तथा प्रशिक्षण विभागको प्रमुख बनाउने तयारी भएको थियो। तर तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तिम समयमा कराते प्रशिक्षक शोभित प्रसाईंलाई निर्देशक बनाएपछि विवाद भएको थियो। त्यसपछि वैद्यले तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक पदबाट राजीनामा दिएकी थिइन्।