भदौ ११ , काठमाडौं । कैलालीमा श्रीमान् बेपत्ता भएको भन्दै प्रहरीमा निवेदन दिने एक महिला नै उनको हत्या आरोपमा पक्राउ परेकी छन्।
लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनार साउन २२ गतेदेखि जानकी गाउँपालिका–९, अमरावतीस्थित ससुरालीबाट बेपत्ता भएका थिए। उनकी पत्नी यमुना सुनारले श्रीमान् हराएको भन्दै प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन्।
तर, प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा यमुनाले प्रेमीसँग मिलेर श्रीमान्को हत्या गर्ने योजना बनाएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले बताएका छन्। प्रहरीका अनुसार दीपकलाई अमरावती जंगलमा लगेर हत्या गरेपछि शव मोटरसाइकलमा राखी कर्णाली नदीमा फालिएको थियो।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतककी पत्नी यमुनासहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लम्कीचुहा–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर–३ का ३२ वर्षीय राम राजेश महतो, बेलौरी–९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी–८ की ३२ वर्षीया भिमा राना छन्।
पक्राउ परेका पाँचै जनालाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।