भदौ २८, काठमाडौं । कर्नाटक सरकारले रात्री सिफ्टमा काम गर्ने महिलाको सुरक्षा र यातायातसँग सम्बन्धित कानुनी प्रावधान हटाएको भन्दै कर्नाटक स्टेट आईटीरआईटीईएस इम्प्लोइज युनियन (किटु) ले विरोध जनाएको छ।
कर्नाटक पसल तथा वाणिज्यिक प्रतिष्ठान ऐन संशोधनमार्फत महिलाको रात्रीकालीन कामसँग सम्बन्धित सुरक्षा व्यवस्था हटाइएको हो। कर्नाटक पसल तथा वाणिज्यिक प्रतिष्ठान ९संशोधन० ऐन, २०२६ ले ऐनको धारा २५९१०(एच) देखि २५९१०(ओ) सम्मका प्रावधान हटाएको छ। ती प्रावधानमा रात्री सिफ्टमा काम गर्ने महिलाको यातायात तथा सुरक्षासम्बन्धी विभिन्न व्यवस्था थिए।
किटुका अनुसार हटाइएका व्यवस्थामा महिला कर्मचारीलाई राति ओसारपसार गर्ने चालकको अनिवार्य परिचय तथा पृष्ठभूमि जाँच, तोकिएको पिकअप तथा ड्रप रुट, महिलाको फोन नम्बर, इमेल र ठेगाना अनधिकृत व्यक्तिको पहुँचबाट सुरक्षित राख्ने व्यवस्था थिए।
त्यस्तै, कुनै महिला कर्मचारीलाई पहिलोपटक लिन वा अन्तिममा घर पुर्याउन नहुने, आवश्यक स्थानमा सुरक्षा गार्डको व्यवस्था गर्ने, रात्री सिफ्टका सवारीसाधनको आकस्मिक जाँच गर्ने तथा सवारी आवागमन निगरानीका लागि कन्ट्रोल रुम वा ट्राभल डेस्क राख्नुपर्ने प्रावधान पनि हटाइएको किटुले जनाएको छ। आपत्कालीन अवस्थामा तत्काल सहयोग माग्न सकिने संयन्त्रसमेत ती प्रावधानमा समावेश थियो।
किटुका महासचिव सुहास आदिगाका अनुसार विशेषगरी आईटी तथा आईटीईएस क्षेत्रमा ठूलो संख्यामा महिला कार्यरत रहेकाले रात्री सिफ्टमा उनीहरूको सुरक्षित यातायात र प्रभावकारी सुरक्षा संयन्त्र अत्यावश्यक छ।
संघले कानुनी सुरक्षा प्रावधान हटाउँदा महिलामाथि आफ्नै सुरक्षाको थप जिम्मेवारी पर्ने र रोजगारदाताको जवाफदेहिता घट्ने दाबी गरेको छ। किटुले हटाइएका धारा २५९१०(एच) देखि २५९१०(ओ) सम्मका प्रावधान तत्काल पुनःस्थापना गर्न सरकारसँग माग गरेको छ।