भदौ १२ , काठमाडौं । सुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि आजदेखि छुट्टै हेलिकप्टर परिचालन गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक प्रबन्ध निर्देशक दीर्घायु कुमार श्रेष्ठले जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि एउटा हेलिकप्टरलाई विशेष रूपमा परिचालन गर्न लागिएको जानकारी दिएका छन्।
उनका अनुसार आयोजनामा कार्यरत कर्मचारीसँगै बाढी प्रभावित क्षेत्रमा रहेका स्थानीय नागरिकलाई समेत आवश्यकताअनुसार उद्धार गरिनेछ। उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए।
बाढीका कारण कतिपय जलविद्युत् आयोजनाका सुरुङ प्रवेश गर्ने स्थानमा माटो तथा ढुंगाको थुप्रो जमेको छ। त्यस्ता स्थानमा डोजर प्रयोग गरी सुरुङ खुलाउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।
बाढीका कारण विभिन्न आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई प्राधिकरणले तीव्र बनाएको छ। उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहितको टोली काठमाडौंँबाट प्रभावित क्षेत्रतर्फ पठाइएको छ।
विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार तथा शान्ति बजार क्षेत्रमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उद्धार टोली परिचालन गरिएको छ।
Share this with your friends: