भदौ १२ , काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन्।
शुक्रबार सन्देश जारी गर्दै भण्डारीले उद्धार र राहतसँगै विस्थापित तथा प्रभावित परिवारलाई सुरक्षित रूपमा पुनर्स्थापित गर्ने र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएकी हुन्।
उनले उद्धार, राहत तथा पुनर्स्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न तथा आवश्यक स्रोत, साधन र प्राविधिक जनशक्ति परिचालन गर्न सरकारसँग आग्रह गरेकी छन्।
प्राकृतिक विपत्तिको यस कठिन अवस्थामा सम्पूर्ण राजनीतिक दललाई आपसी समन्वय, सहकार्य र एकताका साथ उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सक्रिय रूपमा जुट्न पनि उनले आह्वान गरेकी छन्।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। नदी तटीय क्षेत्रका बस्ती, घर, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन तथा शैक्षिक संस्थालगायतका संरचनामा क्षति पुगेको छ भने ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन रहेको अवस्था छ।
भण्डारीले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई सर्वाधिक प्राथमिकता दिन आग्रह गर्दै प्रभावितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताएकी छन्।
उनले प्रभावित नागरिकका लागि खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, वैकल्पिक विद्युत् आपूर्ति, सञ्चार तथा अन्य अत्यावश्यक सेवा तत्काल उपलब्ध गराउन सरकार, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेकी छन्।