भदौ २५, काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित विश्वप्रसिद्ध एफिल टावरमा महिलामाथि विभेद गरिएको आरोपमा कर्मचारीहरूले गरेको हड्तालका कारण एक दिन बन्द भएको छ। शनिबार हिन्दू धार्मिक संगठन बीएपीएसको करिब १०० सदस्यीय प्रतिनिधिमण्डल भ्रमणमा आउँदा महिला कर्मचारीलाई प्रतिनिधिमण्डलसँग प्रत्यक्ष सम्पर्कमा नरहन व्यवस्थापनले निर्देशन दिएको भन्दै कर्मचारीहरूले विरोध गरेका हुन्।
सीजीटी ट्रेड युनियनकी डियान डाभोइनका अनुसार महिला कर्मचारीलाई प्रतिनिधिमण्डलसँग सम्पर्क नगर्न दिइएको निर्देशन असामान्य र ‘अस्वीकार्य’ थियो। यसप्रति कर्मचारीमा असन्तुष्टि बढेपछि हड्ताल गरिएको उनले बताइन्।
बीएपीएसले भने एफिल टावर व्यवस्थापनसँग गरिएको समन्वयको उद्देश्य कर्मचारी र अन्य आगन्तुकलाई कमभन्दा कम असुविधा होस् भन्ने मात्र रहेको र महिलामाथि कुनै लैंगिक प्रतिबन्ध लगाउने उद्देश्य नरहेको स्पष्ट पारेको छ। संस्थाले यस घटनाबाट कसैलाई चोट पुगेको वा असुविधा भएको भए क्षमा माग्दै लैंगिक समानता, पारस्परिक सम्मान र सबैप्रतिको सेवाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
घटनाप्रति पेरिसका मेयर इम्यानुएल ग्रेगोइरले अनुसन्धान अघि बढाउने बताएका छन्। उनले ऐतिहासिक स्मारकको परिसरमा मात्र होइन, जहाँसुकै र सबैका लागि लैंगिक समानता लागू हुनुपर्ने बताएका छन्।
करिब १३७ वर्ष पुरानो एफिल टावरमा प्रत्येक वर्ष करिब ७० लाख पर्यटक पुग्ने गरेका छन्। विशेष अतिथि तथा प्रतिनिधिमण्डलका भ्रमणका क्रममा कर्मचारीले आवश्यक समायोजन गर्दै आएको भए पनि यसपटक महिला कर्मचारीलाई सम्पर्कबाट टाढा राख्ने निर्देशन असाधारण भएको युनियनको भनाइ छ।
Share this with your friends: