असोज ४, काठमाडौं । नेपाली महिला तथा युवतीलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्याई शोषण गर्ने गरिएको विवरण सार्वजनिक भएपछि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन अघि बढाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक भएका खोजमूलक समाचारलाई प्रारम्भिक सूचनाका रूपमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ। मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरी सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई आवश्यक छानबिन गर्न निर्देशन दिएको जनाएको छ।
सार्वजनिक विवरणअनुसार नेपाली महिला तथा युवतीलाई रोजगारी, विवाह, अध्ययन, मोडलिङ तथा मनोरञ्जनलगायतका अवसरको प्रलोभन देखाएर बिचौलियामार्फत भारत लैजाने र त्यहाँ शोषणमा पार्ने गरिएको आरोप छ। मन्त्रालयले यी विवरणको वास्तविकता पत्ता लगाउन अनुसन्धान थालेको जनाएको हो।
बिचौलियादेखि सीमा नाकासम्म अनुसन्धान
मन्त्रालयका अनुसार छानबिन सम्भावित बिचौलिया वा व्यक्तिमा मात्र सीमित रहने छैन। घटनामा प्रयोग भएका भनिएका सीमा नाका, यात्राका माध्यम, सम्बन्धित संस्था तथा सम्भावित आपराधिक सञ्जालसम्म अनुसन्धान विस्तार गरिनेछ।
यस क्रममा आवश्यक प्रमाण संकलन, सम्भावित पीडितको पहिचान तथा संरक्षण र आरोपितमाथि अनुसन्धानका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। हालसम्म भने पीडितको संख्या, आरोपितको पहिचान वा पक्राउसम्बन्धी विवरण सार्वजनिक गरिएको छैन।
उद्धार र पुनर्स्थापनामा पनि जोड
मन्त्रालयले अनुसन्धान र दोषीमाथि कारबाहीसँगै सम्भावित पीडितको उद्धार, संरक्षण, सुरक्षित घरफिर्ती तथा पुनर्स्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ।
सरकारले नेपाल–भारतको खुला सीमाको दुरुपयोग गरी महिला, युवती तथा बालबालिकालाई प्रलोभनमा पारेर सीमापार लैजाने तथा शोषण गर्ने गतिविधि पुष्टि भए प्रचलित कानूनअनुसार कारबाही गर्ने जनाएको छ।
सामाजिक सञ्जालका आकर्षक प्रस्तावप्रति सावधानी
मन्त्रालयले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट आउने अस्वाभाविक रोजगारी, उच्च आम्दानी, विदेश यात्रा, विवाह, मोडलिङ तथा मनोरञ्जनसम्बन्धी आकर्षक प्रस्तावप्रति सतर्क रहन नागरिकलाई आग्रह गरेको छ।
वैदेशिक रोजगारी, अध्ययन वा यात्रामा जानुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता यकिन गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ। साथै राहदानी, नागरिकता, बैंक विवरण तथा अन्य व्यक्तिगत कागजात अपरिचित व्यक्ति वा बिचौलियालाई नदिन पनि सचेत गराइएको छ।
मन्त्रालयले मानव बेचबिखन, जबर्जस्ती वा प्रलोभनमा सीमापार लैजाने प्रयास तथा शोषणसम्बन्धी सूचना नजिकको प्रहरी कार्यालय, सम्बन्धित सरकारी निकाय वा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई उपलब्ध गराउन आग्रह गरेको छ।