असोज ५, काठमाडौं । झूटा आश्वासन तथा विभिन्न प्रलोभन देखाएर नेपाली महिला र बालिकालाई भारततर्फ लैजाने गरिएको आरोपबारे सरकारले अनुसन्धान अघि बढाएको छ।
महिला, बालबालिका तथा लैंगिक अल्पसंख्यक मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरी सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई घटनाको छानबिन गर्न निर्देशन दिएको जनाएको छ।
मन्त्रालयका अनुसार सञ्चारमाध्यममा आएका विवरणका आधारमा घटनामा संलग्न व्यक्ति, बिचौलिया, संस्था, सीमा नाका, यात्राका माध्यम तथा सम्भावित आपराधिक सञ्जालबारे अनुसन्धान गर्न भनिएको छ। दोषी भेटिए प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।
समाचारमा नेपाली महिला तथा बालिकालाई नेपाल–भारत सीमाबाट कानुनी तथा प्रशासनिक प्रक्रियालाई छल्दै भारत पुर्याएर विभिन्न किसिमको शोषणमा पारिएको तथा संगठित मानव बेचबिखनमा संलग्न गराइएको आरोप उल्लेख गरिएको छ।
मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ ले प्रलोभन, झुक्याउने, ठगी, दबाब वा धम्की लगायतका माध्यमबाट महिला, किशोरी तथा बालबालिकालाई शोषणका लागि नेपालभित्र वा विदेश लैजाने कार्यलाई अपराधका रूपमा परिभाषित गरेको स्पष्ट पारेको छ।
रोजगारी, विवाह, अध्ययन, वैदेशिक रोजगारी, मनोरञ्जन, मोडलिङ वा अन्य आकर्षक अवसरको प्रलोभन देखाएर महिला तथा बालबालिकालाई सीमापार लैजाने व्यक्ति, बिचौलिया, एजेन्ट, संस्था वा संगठित आपराधिक समूहविरुद्ध कानुनी कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।
मन्त्रालयले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट आउने शंकास्पद रोजगारी, उच्च आम्दानी, विदेश यात्रा, विवाह वा मनोरञ्जनसम्बन्धी प्रस्तावमा सावधानी अपनाउन महिला, बालिका, अभिभावक तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
विदेश जानुअघि सम्बन्धित व्यक्ति वा संस्थाको विश्वसनीयता जाँच गर्न, आवश्यक कानुनी प्रक्रिया पूरा गर्न तथा राहदानी, शैक्षिक प्रमाणपत्रजस्ता महत्वपूर्ण कागजात अपरिचित व्यक्ति वा बिचौलियालाई नदिन पनि मन्त्रालयले अनुरोध गरेको छ।