भदौ २८, काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। भदौ २९ गते परेको तीजमा भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
भक्तजनलाई सहज रूपमा दर्शन गराउन मन्दिरबाहिर पाँचवटा र मन्दिर परिसरभित्र आठवटा लाइनको व्यवस्था गरिएको छ। तीजका दिन महिला भक्तजनको संख्या उल्लेख्य हुने भएकाले सुरक्षालाई ध्यानमा राख्दै थप महिला सुरक्षाकर्मी परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ।
यस्तै, तीजका अवसरमा हुने भीडलाई व्यवस्थित गर्न ट्राफिक व्यवस्थापनको समेत तयारी गरिएको छ। विशिष्ट व्यक्तिका सवारीसाधन पार्किङका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर प्रयोग गरिनेछ।
अन्य भक्तजनका सवारीसाधनका लागि भने भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा र उमाकुण्डमा पार्किङस्थल तोकिएको कोषले जनाएको छ।