भदौ २८, काठमाडौं । अभिनेत्री आँचल शर्मा फिल्म ‘झिङ्गेदाउ २’ लाई लिएर उत्साहित देखिएकी छन्। पहिलो श्रृंखलाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण भएको दोस्रो भागमा पहिलो फिल्मभन्दा मनोरञ्जन, रमाइलो र सामाजिक सन्देश अझ बढी रहेको उनको दाबी छ।
आँचलका अनुसार पहिलो भागले बनाएको अपेक्षा पूरा गर्ने चुनौती दोस्रो भागको टिममाथि छ। यद्यपि फिल्मले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको उनले बताएकी छन्।
‘झिङ्गेदाउ’ आँचलको अभिनय यात्राका लागि समेत विशेष फिल्म बनेको उनको भनाइ छ। फिल्ममा जोडिनुअघि निर्देशक ज्ञानेन्द्र देउजाको फिल्मी पृष्ठभूमिबारे आफू धेरै परिचित नभए पनि स्क्रिप्ट र निर्देशकको कामप्रतिको समर्पणबाट प्रभावित भएर चलचित्रमा काम गरेको उनले बताइन्।
पहिले निर्वाह गरेका भूमिकाभन्दा बिल्कुलै फरक पात्रका लागि आफूलाई छनोट गरिएकामा सुरुमा आश्चर्य लागेको उनको भनाइ छ। तर यही फिल्म अप्रत्याशित रूपमा आफ्नो जीवनभर सम्झनलायक काममध्ये एक बनेको उनले बताएकी छन्।
६ वर्षपछि फेरिएको पात्र र आफू
‘झिङ्गेदाउ’ र ‘झिङ्गेदाउ २’ बीच करिब ६ वर्षको अन्तर छ। यो अवधिमा पात्रसँगै आफूमा पनि परिपक्वता आएको आँचलको अनुभव छ।
समयसँगै अभिनय सिकाइ र व्यक्तिगत परिपक्वता बढेकाले दोस्रो भागमा पात्रलाई विभिन्न कोणबाट बुझ्न र प्रस्तुत गर्न अझ सहज भएको उनले बताइन्।
केकीसँगको सम्बन्धले सहज बनायो झगडाका दृश्य
फिल्ममा आँचल शर्मा र केकी अधिकारीबीचका झगडाका दृश्यलाई पनि प्रमुख आकर्षणका रूपमा हेरिएको छ। पर्दामा घमासान देखिने ती दृश्यको पछाडि भने दुवै अभिनेत्रीबीचको राम्रो सम्बन्ध र आपसी समझदारी रहेको आँचल बताउँछिन्।
एकअर्कासँग सल्लाह गरेर दृश्य तयार गर्ने भएकाले कठिन दृश्यसमेत सहज भएको उनको भनाइ छ। रुख चढेर अभिनय गर्नुपर्ने दृश्य भने आफूका लागि निकै चुनौतीपूर्ण रहेको उनले सुनाइन्।
त्यस्तै, कुटपिट र लडाइँका दृश्यका क्रममा शारीरिक पीडा तथा नीलडामसमेत सहनुपरेको उनले बताएकी छन्। तर फिल्म सफल भएपछि ती सबै संघर्ष रमाइलो सम्झनामा परिणत हुने उनको विश्वास छ।
‘झिङ्गेदाउ २’ केवल झगडाको कथा होइन
आँचलका अनुसार ‘झिङ्गेदाउ २’ केवल पारिवारिक झगडा र बुहारी–सासूबीचको सम्बन्धमा केन्द्रित फिल्म होइन। यसले परिवार, सम्बन्ध र बदलिँदो सामाजिक परिवेशलाई समेत प्रस्तुत गरेको छ।
नेपालका विभिन्न भूगोल र समुदायमा पारिवारिक सम्बन्धका समस्या फरक–फरक रूपमा देखिने भएकाले फिल्मले धेरै दर्शकलाई आफ्नै परिवेशसँग जोड्न सक्ने उनको भनाइ छ।
फिल्मले मनोरञ्जनसँगै दर्शकलाई आफ्नै व्यवहार र पारिवारिक सम्बन्धबारे सोच्ने अवसर दिने उनले बताइन्। विशेषगरी बुहारीले दबिएर बस्नुपर्ने परम्परागत धारणाभन्दा मानवता र पारिवारिक जिम्मेवारीलाई महत्त्व दिनुपर्ने सन्देश फिल्मले दिने उनको बुझाइ छ।
दर्शकलाई हलसम्म पुग्न आँचलको आग्रह
पहिलो भागमा काम गरेका कलाकारबीच बनेको पारिवारिक माहोल दोस्रो भागमा पनि कायम रहेको आँचल बताउँछिन्। नयाँ कलाकार थपिए पनि अन्ततः सम्पूर्ण टिमबीच पारिवारिक वातावरणमै चलचित्र निर्माण भएको उनको भनाइ छ।