असोज २, काठमाडौं । भारतको मध्यप्रदेशस्थित ग्वालियरमा छोरी जन्माएको विषयलाई लिएर एक पुरुषले अस्पतालमै आफ्नी श्रीमतीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन्। ग्वालियरको कमला राजा अस्पतालको स्त्रीरोग वार्डमा ४० वर्षीय पुरुषले ३५ वर्षीया श्रीमतीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। घटना महिला जुम्ल्याहा सन्तान—एक छोरा र एक छोरी—जन्माएपछि भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
महिलाको परिवारका अनुसार छोरी जन्मिएको विषयमा असन्तुष्ट बनेपछि ती पुरुषले श्रीमतीमाथि आक्रमण गरेका थिए। महिलाका बुबाले घटनालाई लैंगिक पूर्वाग्रहसँग जोड्दै प्रहरीमा उजुरी दिएका छन् र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
अस्पतालका स्रोतका अनुसार शल्यक्रियामार्फत जुम्ल्याहा सन्तान जन्माएकी महिलालाई भेट्न अस्पताल पुगेपछि पति–पत्नीबीच विवाद भएको थियो। त्यसपछि पुरुषले श्रीमतीमाथि आक्रमण गर्दा उनको अनुहारमा चोट लागेको र अस्पतालको शल्यक्रियापछिको वार्डमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ।
महिलाका आफन्तले आक्रमणमा धारिलो हतियार प्रयोग भएको दाबी गरेका छन्। तर प्रहरीले भने झगडाका क्रममा पुरुषले श्रीमतीको मुख बलपूर्वक थिच्दा उनको औँठी र नङका कारण अनुहारमा कोतरेको चोट लागेको प्रारम्भिक जानकारी दिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।