अन्तर्राष्ट्रिय चर्चित महिला समूह केट्सआईले सदस्य मेगन स्किएन्डेलको खुट्टामा चोट लागेपछि अमेरिकी गायिका ओलिभिया रोड्रिगोको ‘डेजी चेइन फिल्ड्स’ महिला संगीत महोत्सवमा प्रस्तुति नदिने भएको छ।
केट्सआईले आफ्नो आगामी ‘वाइल्ड’ भ्रमणका लागि अभ्यास गर्ने क्रममा मेगनको खुट्टाको गोलीगाँठोमा मोच आएको जानकारी दिएको छ। चिकित्सकले उनको चोटको मूल्याङ्कन गर्दै खुट्टालाई आराम दिन सुझाव दिएका छन्। आगामी केही दिनमै समूहको भ्रमण सुरु हुने भएकाले मेगनलाई पूर्ण रूपमा निको हुन आराम आवश्यक रहेको बताइएको छ।
क्यालिफोर्नियामा अगस्ट २९ मा आयोजना हुने उक्त महोत्सवमा केट्सआईको प्रस्तुति तय थियो। तर चोटका कारण समूहले कार्यक्रमबाट आफ्नो नाम फिर्ता लिएको हो। समूहले आफ्ना समर्थकले लामो समयदेखि कार्यक्रमको प्रतीक्षा गरिरहेको भन्दै उनीहरूलाई निराश पार्नुपर्दा दुःख लागेको जनाएको छ।
महोत्सवमा ओलिभिया रोड्रिगोसहित च्यापेल रोअन, डोइची र मित्स्की लगायतका कलाकारले प्रस्तुति दिनेछन्। केट्सआईको स्थानमा गायिका तथा गीतकार डेभन अगेनले प्रस्तुति दिने भएकी छन्। विशेष अतिथिका रूपमा रक गायिका स्टिभी निक्स, क्यानडाकी गायिका सारा म्याक्लाक्लन र गायिका करेन ओ सहभागी हुनेछन्।
महिला कलाकारलाई केन्द्रमा राखेर आयोजना हुने ‘डेजी चेइन फिल्ड्स’ महोत्सवबाट प्राप्त सम्पूर्ण रकम महिला तथा बालिकाको अधिकार, विकास र सशक्तीकरणका क्षेत्रमा काम गर्ने परोपकारी संस्थालाई प्रदान गरिनेछ।
मेगनको चोटअघि नै केट्सआईका दुई सदस्य मनोन ब्यानरम्यान र सोफिया लाफोर्जा छुट्टाछुट्टै स्वास्थ्य तथा व्यक्तिगत कारणले केही समयका लागि समूहबाट विश्राममा थिए।