साउन २० , काठमाडौं । नेपाली युवापुस्तामा विकसित हुँदै गएको उद्यमशीलता र दिगो फेसनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यसहित एक नेपाली प्रतिनिधिले ‘कोस्मो प्लेटफर्म’मा आफ्नो धारणा प्रस्तुत गर्ने बताएकी छन्।
उनले नेपालमा दिगो फेसन, स्थानीय उत्पादन तथा महिला उद्यमशीलताको विशाल सम्भावनालाई विश्व समुदायसमक्ष राख्ने योजना रहेको बताउँदै यस अवसरलाई देश चिनाउने महत्वपूर्ण माध्यमका रूपमा लिएको उल्लेख गरिन्।
उनका अनुसार नेपालमा पछिल्लो समय दिगो फेसनप्रति आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। पुनःप्रयोग ९अपसाइक्लिङ०, वातावरणमैत्री सामग्रीको प्रयोग तथा स्थानीय सीपको प्रवर्द्धनजस्ता अभ्यासहरू विस्तार हुँदै गएका छन्।
उनले भनिन्, “फास्ट फेसनको प्रभावसँगै वातावरणीय चुनौती पनि बढिरहेका छन्, त्यसैले दिगो र जिम्मेवार फेसनतर्फ ध्यान दिनु अत्यावश्यक छ।”
नेपालमा युवा उद्यमीहरूको नयाँ पुस्ताले फेसन क्षेत्रमा नवीन सोच र सिर्जनशीलता भित्र्याउँदै गएको छ। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने सम्भावना पनि विस्तार हुँदै गएको देखिन्छ।
कोस्मो जस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागिताले नेपाली फेसन उद्योगलाई विश्व बजारसँग जोड्न, लगानी आकर्षित गर्न र स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस पहलले विशेषगरी महिलाहरूलाई उद्यमशीलतामा प्रोत्साहन दिँदै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेको छ।