असोज २१ , काठमाडौं । भारतको उत्तर प्रदेशमा ५० महिला उद्यमी, लगानीकर्ता तथा डिजिटल सिर्जनाकर्मीलाई बनारसी बुनाइ र हस्तकलासँग जोड्ने पहल सुरु भएको छ। उत्तर प्रदेश पर्यटन विभाग र एफआईसीसीआई–एफएलओको सहकार्यमा अक्टोबर ७ देखि ९ सम्म वाराणसी र सारनाथमा तीनदिने परिचयात्मक भ्रमण आयोजना गरिएको हो।
यस कार्यक्रममा फेसन, दिगो डिजाइन, आतिथ्य, पर्यटन, शिक्षा, स्वास्थ्य तथा डिजिटल सञ्चारलगायत क्षेत्रका महिला सहभागी छन्। उनीहरूले वाराणसीका बुनकर, हस्तकला उद्यमी र व्यापारीसँग प्रत्यक्ष भेट गरी बनारसी साडीको डिजाइन, रंगाइ, बुनाइ, जरिअ काम, अन्तिम तयारीदेखि बजारसम्मको प्रक्रियाबारे जानकारी लिनेछन्।
कार्यक्रमको मुख्य उद्देश्य परम्परागत बनारसी बुनाइलाई नयाँ पुस्ता, उपभोक्ता र व्यवसायिक बजारसँग जोड्नु हो। सहभागीहरूले परम्परागत साडीलाई आधुनिक दैनिक, औपचारिक तथा कर्पोरेट पहिरनमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि छलफल गर्नेछन्। ‘साडी ब्याक इन फेसन’ पहलमार्फत स्टाइलिङ, स्रोत व्यवस्थापन, खुद्रा बजार र डिजिटल प्रचारका सम्भावना खोजिनेछ।
पर्यटन विभागका अनुसार महिला उद्यमीलाई स्थानीय हस्तकला समुदायसँग जोड्दा बुनकर तथा साना व्यवसायीका लागि नयाँ बजार र व्यवसायिक सञ्जाल विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारी र परम्परागत सीपको संरक्षणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
भ्रमणका क्रममा सहभागीहरूले काशी विश्वनाथ मन्दिर, गंगा आरती, सूर्योदय क्रुज, रामनगर किल्लालगायत स्थलको अवलोकन गर्नेछन्। कार्यक्रमको अन्त्य सारनाथमा हुने छ, जहाँ धामेक स्तूप, चौखण्डी स्तूप, मूलगन्ध कुटी विहार र पुरातत्व संग्रहालयको भ्रमण गरिनेछ।