असोज २० , काठमाडौं । भारतको राष्ट्रिय महिला आयोगले एपमार्फत सञ्चालन हुने क्याब, अटो–रिक्सा र बाइक ट्याक्सीमा यात्रा गर्ने महिलाको सुरक्षा मजबुत बनाउन नयाँ सुरक्षा निर्देशिका जारी गरेको छ। आयोगले सबै राज्य र केन्द्रशासित प्रदेशलाई निर्देशिका कार्यान्वयनका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ।
निर्देशिकाअनुसार एपमा देखाइएको चालक र यात्राका लागि आएको वास्तविक चालक तथा सवारीसाधनको विवरण अनिवार्य रूपमा मिल्नुपर्नेछ। चालकको प्रहरी प्रमाणीकरण, आपराधिक पृष्ठभूमिको जाँच तथा नियमित पुनःसत्यापन गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
महिला यात्रुको सुरक्षाका लागि प्रत्येक क्याबमा एसओएस बटन राख्नुपर्ने र आपत्कालीन अवस्थामा त्यसबाट कमान्ड तथा कन्ट्रोल सेन्टरमा तत्काल सूचना पुग्ने व्यवस्था गर्न आयोगले भनेको छ। २४ घण्टा सञ्चालन हुने यस्तो केन्द्रले एसओएस संकेत प्राप्त भएको करिब ६० सेकेन्डभित्र प्रतिक्रिया जनाउने र आवश्यक परे प्रहरीसँग समन्वय गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यस्तै, यात्राका क्रममा निर्धारित रुटभन्दा उल्लेख्य रूपमा विचलन भएमा यात्रु र सम्बन्धित कम्पनीलाई रियल–टाइम अलर्ट पठाउनुपर्नेछ। सुनसान वा जोखिमयुक्त स्थानमा लामो समय सवारी रोकिएमा पनि निगरानी तथा आवश्यक हस्तक्षेपको व्यवस्था गर्न भनिएको छ।
रातिको यात्रामा चालक तथा सवारीसाधनको थप प्रमाणीकरण, चालकको मदिरा सेवनसम्बन्धी जाँच, विश्वसनीय सम्पर्क व्यक्तिसँग यात्राको विवरण स्वतः साझा गर्ने विकल्प र सुरक्षित स्थानमा यात्रु ओराल्ने व्यवस्था गर्न आयोगले सिफारिस गरेको छ।
एक्लै यात्रा गर्ने महिलाका लागि सम्भव भएसम्म महिला चालक छनोट गर्न सक्ने सुविधा उपलब्ध गराउन तथा प्रमाणित महिला चालकको छुट्टै सूची तयार गर्न पनि आयोगले सुझाव दिएको छ।
आयोगकी अध्यक्ष विजया राहतकरले प्रविधिमा आधारित यातायात सेवा विस्तार भइरहेका बेला महिलाले डरबिनै यात्रा गर्न सक्ने वातावरण सुनिश्चित गर्नु आवश्यक रहेको बताएकी छन्। उनका अनुसार राज्यका निकाय, प्रहरी, यातायात कार्यालय र एप–आधारित यातायात कम्पनीबीच समन्वय बढाउनुपर्ने आवश्यकता छ।
यो निर्देशिका चालक वा सवारीसाधनको पहिचान नमिल्ने, रुट परिवर्तन हुने, दुर्व्यवहार तथा पछ्याउनेजस्ता घटना, असुरक्षित स्थानमा यात्रु ओराल्ने र आपत्कालीन प्रतिक्रियामा हुने ढिलाइसम्बन्धी गुनासो बढेपछि ल्याइएको हो।