असोज १८ , काठमाडौं । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमा आफ्नो र पूर्वपतिको नाम जोडेर टिप्पणी हुन थालेपछि चौहानले आफ्नो वर्तमानलाई विगतका सम्बन्धबाट परिभाषित नगर्न आग्रह गरेकी हुन्। उनले आफू विगतलाई पछाडि छाडेर अगाडि बढिसकेको भन्दै पुराना तस्बिर र सम्बन्धलाई बारम्बार समाचारमा जोड्दा पुराना घाउ फेरि बल्झिने बताएकी छन्।
चौहानले आफ्नो विगत जीवनको एउटा अध्याय मात्रै भएको भन्दै त्यसलाई आफ्नो सम्पूर्ण परिचय नबनाइदिन सञ्चारमाध्यमसँग अनुरोध गरेकी छन्। आफ्नो पहिचान बनाउन आफूलाई अरू कसैको नामको सहारा आवश्यक नरहेको उनको भनाइ छ।
उनले आफूले कल्पनासमेत नगरेका विषय समाचारमा देखिने गरेको भन्दै त्यस्ता सामग्रीप्रति असन्तुष्टि जनाएकी छन्। साथै, विगतसँग जोडिएका व्यक्ति वा सम्बन्धलाई पटक–पटक अगाडि ल्याएर आफ्नो वर्तमानको परिचय नबनाइदिन उनले आग्रह गरेकी छन्।
चौहानले भ्रामक तथा आफ्नो आत्मसम्मानमा आँच पुर्याउने समाचार वा सामग्री प्रकाशन तथा प्रसारण भइरहे कानुनी उपचारमा जाने चेतावनीसमेत दिएकी छन्।
उनको यो अभिव्यक्तिले सार्वजनिक जीवनमा रहेका व्यक्तिको वर्तमान पहिचान र निजी विगतलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सञ्चारमाध्यमको जिम्मेवारीमाथि पनि प्रश्न उठाएको छ।