असोज १५ काठमाडौं । नयाँ दिल्लीमा महिलामाथि बढ्दो यौन हिंसाका घटनाविरुद्ध २०० भन्दा बढी विद्यार्थी सडकमा उत्रिएका छन्। विभिन्न विश्वविद्यालय, कलेज तथा विद्यालयका विद्यार्थी सहभागी भएको प्रदर्शन ‘स्टुडेन्ट्स फेडरेसन अफ इन्डिया’ (एसएफआई) दिल्लीको नेतृत्वमा भएको हो।
विद्यार्थीहरूले दिल्ली सचिवालयसम्म मार्च गर्दै महिलाको सुरक्षाका लागि तत्काल र प्रभावकारी कदम चाल्न माग गरेका छन्। उनीहरूले यौन हिंसाका घटनामा प्रहरीबाट प्रथम सूचना रिपोर्ट ९एफआईआर० दर्ता गर्न हुने ढिलाइ अन्त्य गरी त्यस्ता घटनामा ‘शून्य सहनशीलता’को नीति लागू गर्न माग गरेका छन्।
प्रदर्शनकारीले निश्चित समयभित्र सुरक्षा अडिट गर्नुपर्ने, सार्वजनिक स्थानमा सीसीटीभी र सडकबत्ती विस्तार गर्नुपर्ने तथा सार्वजनिक यातायातलाई महिलाका लागि सुरक्षित बनाउनुपर्ने माग गरेका छन्। साथै, महिलाका लागि सहायता केन्द्र र सुरक्षित सार्वजनिक शौचालयको व्यवस्था गर्न पनि उनीहरूले आग्रह गरेका छन्।
एसएफआईको प्रतिनिधिमण्डलले दिल्ली सरकारको सामान्य प्रशासन विभागका संयुक्त सचिव प्रदीप टायललाई ज्ञापनपत्र बुझाउँदै विद्यालयस्तरदेखि नै लैंगिक संवेदनशीलतासम्बन्धी शिक्षा दिनुपर्ने माग गरेको छ। लैंगिक तथा यौन अल्पसंख्यकको सुरक्षा, सम्बन्धित निकायलाई जवाफदेही बनाउने र संस्थागत रूपमा लैंगिक संवेदनशीलता बढाउने विषय पनि ज्ञापनपत्रमा समेटिएको छ।
यसैबीच, श्यामा प्रसाद मुखर्जी कलेज फर वुमेनका विद्यार्थीहरूले पनि कलेज परिसरबाहिर छुट्टै प्रदर्शन गर्दै छात्राको सुरक्षा थप मजबुत बनाउन माग गरेका छन्।