असोज १५ काठमाडौं । नयाँ दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले महिला सुरक्षाका नाममा छोरीमाथि मात्रै प्रतिबन्ध लगाउने प्रवृत्तिमाथि प्रश्न उठाउँदै छोरा र छोरी दुवैलाई समान रूपमा व्यवहार, जिम्मेवारी र मर्यादाबारे सिकाउनुपर्ने बताएकी छन्।
दिल्ली विश्वविद्यालयअन्तर्गत मैत्रेयी कलेजको कार्यक्रममा बोल्दै गुप्ताले सुरक्षाका लागि महिलाको हिँडडुल वा गतिविधिमा रोक लगाउनु समाधान नभएको बताइन्। उनका अनुसार घर, परिवार र समाजले सुरक्षाका नाममा प्रायः छोरीलाई मात्र के गर्ने र के नगर्ने भनेर सिकाउने गर्छन्, तर छोरालाई पनि त्यही शिक्षा दिन आवश्यक छ।
गुप्ताले आफू महिला, आमा र मुख्यमन्त्रीका रूपमा छात्राहरूको साथमा रहेको बताउँदै महिलाले आफ्ना आवाज उठाइरहेको विषयलाई दबाउन नहुने धारणा राखिन्। उनले दिल्लीमा सार्वजनिक स्थानको सुरक्षा मजबुत बनाउन ५० हजार सीसीटीभी क्यामेरा र एक लाख सडकबत्ती जडान भइरहेको जानकारी दिइन्।
यसैबीच, दिल्लीका महिला कलेजका प्राचार्यहरूसँग उपराज्यपाल टीएस सन्धुले गरेको बैठकमा कलेज आसपासको सुरक्षा अवस्थाबारे छलफल भएको छ। बैठकमा कलेजसम्म पुग्ने सुरक्षित ‘लास्ट(माइल’ यातायातको अभाव, असुरक्षित पार्क, अपर्याप्त प्रकाश, अँध्यारा स्थान, अतिक्रमित बाटो तथा सार्वजनिक शौचालयलगायतका समस्या उठाइएको थियो।
उपराज्यपाल कार्यालयका अनुसार कलेज आसपासका सडकबत्ती मर्मत, अँध्यारा स्थानमा हाई(मास्ट लाइट जडान, बसस्टप तथा सार्वजनिक स्थानमा सीसीटीभी विस्तार, कलेज वरपर प्रहरी गस्ती बढाउने र शैक्षिक संस्थाको आसपास सुरक्षा अडिट गर्ने निर्देशन दिइएको छ।
कलेजदेखि मेट्रो स्टेसनसम्मको यातायात सहज बनाउन साँझको समयमा शटल सेवा तथा यू–स्पेसल र मेट्रो फिडर बसको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।