असोज १८ , काठमाडौं । मधेश क्षेत्रमा विशेष रूपमा महिलाले सन्तानको सुख, स्वास्थ्य, दीर्घायु र परिवारको समृद्धिको कामना गर्दै मनाउने जितिया पर्व आज धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न भएको छ।
आश्विन कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व यस वर्ष शुक्रबारदेखि सुरु भएको थियो। ‘जीवित्पुत्रिका व्रत’का नामले समेत परिचित यस पर्वमा महिलाले सन्तानको दीर्घायु, स्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै कठोर व्रत बस्ने परम्परा छ। धार्मिक मान्यताअनुसार व्रत बसेमा सन्तानलाई दुःख, पीडा तथा विभिन्न संकटबाट जोगाउन सकिने विश्वास गरिन्छ।
पर्वको पहिलो दिन व्रतालु महिलाले नजिकका पोखरी, ताल वा जलाशयमा स्नान गरी ‘नहाय–खाय’ विधि पूरा गरेका थिए। त्यस क्रममा लौकाको पातमा तोरीको तेल, सिन्दूर, खैर, मेहन्दीका पात तथा फूल चढाउने परम्परा रहेको छ।
व्रतको अघिल्लो रात दही–चिउरा, माछा तथा मरुवा खाने चलन छ। त्यसपछि शनिबार बिहान करिब ४ बजेदेखि महिलाले अन्न र पानीसमेत नखाई निराहार व्रत बसेका थिए। आइतबार बिहान नवमी तिथि सुरु भएपछि पूजा तथा धार्मिक अनुष्ठान सम्पन्न गरी व्रत तोडिएको हो।
गोलबजार नगरपालिका–१० की व्रतालु गीता देवी झाले जितियामा आफूले परम्पराअनुसार पूजा तथा व्रत गर्ने बताइन्। उनका अनुसार धार्मिक विधि पूरा गरेपछि जितियाको व्रत समापन गरिएको हो।
थारू समुदायमा विशेष महत्व राख्ने जितियामा व्रतालु महिलाले सन्तानको सुख, दीर्घायु र परिवारको समृद्धिको कामना गर्दै जिमुतवाहन देवताको पूजा गर्छन्। यस क्रममा जितियासँग सम्बन्धित धार्मिक तथा पौराणिक कथा सुन्ने चलनसमेत छ। पूजाका बेला फलफूललगायत सामग्री राखेर डालो भर्ने परम्परा पनि रहेको छ।
गोलबजार नगरपालिका–८ की व्रतालु रामकुमारी यादवका अनुसार लौकाको पातमा पूजा गरेसँगै जितियाको विधि सुरु हुन्छ भने समापनका क्रममा केराको पातमा दही–चिउरा, फलफूल तथा अन्य प्रसाद राखेर पूजा गरिन्छ।
जितिया धार्मिक आस्थासँग मात्र सीमित पर्व नभई तराई–मधेशका विभिन्न समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा समेत स्थापित हुँदै आएको छ। यस पर्वले पुस्तौँदेखि महिलाले संरक्षण गर्दै आएको सांस्कृतिक परम्परालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।