असोज १६ काठमाडौं । मोरक्कोमा फातिमा जहरा एल मन्सौरी देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेपछि महिला नेतृत्व र राजनीतिक सशक्तीकरणबारे अन्तर्राष्ट्रिय बहस थप चर्किएको छ।
राजा मोहम्मद छैटौँले सेप्टेम्बर २९ मा एल मन्सौरीलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका हुन्। उनी यसअघि मराकेशकी मेयर तथा राष्ट्रिय भू–योजना, आवास र सहर नीतिसम्बन्धी मन्त्रीका रूपमा काम गरिसकेकी छन्। उनको नियुक्तिसँगै उनी अरब विश्वमा प्रधानमन्त्री बन्ने तेस्रो महिला बनेकी छन्।
अक्टोबर २ मा प्रकाशितअथ को विश्लेषणले एल मन्सौरीको नियुक्तिलाई चीन–मोरक्को सम्बन्ध र महिला सशक्तीकरणको दृष्टिकोणबाट समेत विश्लेषण गरेको छ। लेखअनुसार चीनको अखिल चीन महिला महासंघले उनको नियुक्तिलाई महिला नेतृत्व, आर्थिक सशक्तीकरण र विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरेको छ।
विश्लेषणमा महिला सशक्तीकरणलाई आर्थिक अवसर, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग जोडेर अघि बढाउने चिनियाँ दृष्टिकोण र मोरक्कोको संवैधानिक समानताको अवधारणाबीच सहकार्यका सम्भावनाबारे चर्चा गरिएको छ। साथै चीनको बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत महिला तथा युवाको डिजिटल सीप र आर्थिक सहभागिता बढाउने सम्भावनासमेत औंल्याइएको छ।
एल मन्सौरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि गठबन्धन निर्माण भने प्रमुख चुनौतीका रूपमा रहेको छ। उनको पार्टी अथेन्टिसिटी एन्ड मोडर्निटी पार्टीले ३९५ सदस्यीय प्रतिनिधिसभामा ९७ सिट जितेको छ, जुन सरकार गठनका लागि आवश्यक बहुमतभन्दा निकै कम हो।
उनको नियुक्तिलाई महिला राजनीतिक प्रतिनिधित्वका लागि महत्वपूर्ण घटनाका रूपमा हेरिए पनि मोरक्कोमा लैंगिक समानताको अवस्था अझै चुनौतीपूर्ण रहेको विभिन्न विश्लेषणले देखाएका छन्। महिलाले प्रतिनिधिसभामा करिब २७ प्रतिशत सिट ओगटेका छन् भने स्थानीय राजनीतिक प्रतिनिधित्व अझ कम रहेको यलमभ ले उल्लेख गरेको छ।
एल मन्सौरीले भने आफ्नो नियुक्तिलाई मोरक्कोका सबै महिलाका लागि सन्देश भएको बताएकी छन्। उनले नयाँ सरकारले विशेषगरी युवाको अपेक्षालाई सम्बोधन गर्दै व्यावहारिक समाधान प्रस्तुत गर्ने बताएकी छन्।
यससँगै उनको नेतृत्वमा महिला अधिकार, राजनीतिक सहभागिता र आर्थिक सशक्तीकरणका क्षेत्रमा कस्ता नीतिगत परिवर्तन हुन्छन् भन्ने विषय मोरक्कोको नयाँ सरकारका लागि महत्वपूर्ण चासोको विषय बनेको छ।