असोज १८ , काठमाडौं । भारतको बेंगलुरुमा ३०० भन्दा बढी महिलाले सार्वजनिक स्थान महिलाका लागि सुरक्षित बनाउनुपर्ने माग गर्दै पितृसत्ताविरुद्ध मार्च गरेका छन्। अक्टोबर २ मा भएको उक्त मार्चमा सहभागी महिलाले रातको समयमा पनि महिलाले निर्धक्क रूपमा सडक तथा सार्वजनिक स्थान प्रयोग गर्न पाउनुपर्ने माग गरेका हुन्।
गुलाबी पहिरनमा सहभागी महिलाको मार्च शिवाजीनगरस्थित महात्मा गान्धी पार्कबाट राति करिब ८ बजे सुरु भएको थियो। कस्तुरबा रोड हुँदै अघि बढेको मार्च फ्रिडम पार्कमा पुगेर सम्पन्न भएको थियो। सहभागीहरूले टर्च र मोबाइलको प्रकाश बाल्दै कम उज्यालो भएका सडक हुँदै यात्रा गरेका थिए।
मार्चका क्रममा महिलाले सार्वजनिक सडकमा राति हिँड्दा आफूहरूले सामना गर्ने असुरक्षालाई प्रत्यक्ष रूपमा उजागर गरेका थिए। सहभागीहरूले महिलाको आवागमनलाई समय, स्थान वा सामाजिक सोचका आधारमा सीमित गर्न नहुने भन्दै पितृसत्तात्मक सोचविरुद्ध आवाज उठाएका थिए।
यो मार्च ‘ह्वाइ लोइटर’ अभियानअन्तर्गत आयोजना गरिएको थियो। बेंगलुरुको कार्यक्रमसँगै दिल्ली, मुम्बई, गुवाहाटी, पणजी, कोलकाता र भुवनेश्वरलगायत भारतीय शहरमा पनि महिलाको नेतृत्वमा सार्वजनिक स्थानमा महिलाको स्वतन्त्र पहुँच र सुरक्षाका विषयमा अभियान तथा प्रदर्शन भएका थिए।
मार्चमा सहभागी केही महिलाले आफूहरू राति एक्लै सडकमा हिँड्दा हुने डर र असहजताको अनुभवसमेत साझा गरेका थिए। उनीहरूले सार्वजनिक स्थान महिलाका लागि सुरक्षित बनाउने जिम्मेवारी महिलालाई मात्र नदिई पुरुष, समुदाय र राज्य सबैले लिनुपर्ने बताएका थिए।
बेंगलुरुकी मार्च आयोजक नुपुर आजादीले गुलाबी रंगलाई महिलाको एकता, आशा र सार्वजनिक स्थान पुनः दाबी गर्ने अभियानको प्रतीकका रूपमा प्रयोग गरिएको बताएकी छन्। उनका अनुसार अभियानको उद्देश्य महिलालाई ‘सडकमा कति बेला हिँड्ने’ भन्ने सीमाबाट मुक्त गर्दै सार्वजनिक स्थानमा समान अधिकार स्थापित गर्नु हो।
मार्चमा सहभागी १९ वर्षीया जनासिनाका अनुसार महिलाको अधिकारका लागि सामूहिक आवाज आवश्यक छ। उनका अनुसार साना–साना आवाज र निरन्तर अभियानबाट सामाजिक सोचमा क्रमशः परिवर्तन ल्याउन सकिन्छ।
सफ्टवेयर इन्जिनियर रोनिताले आफ्नी सात वर्षीया छोरीसँगै मार्चमा सहभागिता जनाएकी थिइन्। उनले छोरीका लागि सुरक्षित भविष्य निर्माण गर्न महिलाले सार्वजनिक स्थानमा आफ्नो अधिकार दाबी गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्।
बेंगलुरुको यो मार्चले महिलाको सुरक्षा केवल सुरक्षाका उपाय थप्ने विषय नभई सार्वजनिक स्थानमा महिलाको समान अधिकार, स्वतन्त्र आवागमन र पितृसत्तात्मक सोच परिवर्तन गर्ने विषय पनि भएको सन्देश दिएको छ।