असोज २० , काठमाडौं । भारतमा पछिल्ला विद्यार्थी आन्दोलनका कारण २९ वर्षीया नेहा बोरा चर्चामा आएकी छन्। अखिल भारत विद्यार्थी संघ ९आइसा० की राष्ट्रिय अध्यक्ष बोरा विद्यार्थी अभियन्तासँगै रंगकर्मी तथा जवाहरलाल नेहरू विश्वविद्यालयकी पीएचडी शोधार्थी पनि हुन्।
भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित दिल्लीमा भइरहेको विद्यार्थी आन्दोलनमा बोरा अग्रमोर्चामा छिन्। आन्दोलनका क्रममा उनी पटक–पटक प्रहरी नियन्त्रणमा परे पनि प्रदर्शनको नेतृत्व र विद्यार्थीलाई संगठित गर्ने गतिविधि जारी राखेकी छन्।
पछिल्लो समय बोरा नयाँ दिल्लीको जन्तर–मन्तरमा भएको प्रदर्शनपछि थप चर्चामा आएकी हुन्। पक्राउ परेर रिहा भएपछि पनि उनले प्रदर्शनकारीलाई दिल्लीदेखि इन्डिया गेटसम्म मार्च गर्न आह्वान गरेकी थिइन्। आइतबारको प्रदर्शनका क्रममा पनि उनीसहित करिब १२० प्रदर्शनकारीलाई प्रहरीले केही समय नियन्त्रणमा लिएको थियो।
यसअघि प्रश्नपत्र चुहावट तथा विद्यार्थीका समस्या सम्बोधनको माग गर्दै भएको आन्दोलनमा पनि बोरा सक्रिय थिइन्। तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै भएको आन्दोलनमा उनले २३ दिनसम्म भोक हड्तालसमेत गरेकी थिइन्। उक्त आन्दोलनमा चर्चित पर्यावरण अभियन्ता सोनम वाङ्चुकलगायतको पनि समर्थन थियो।
उत्तराखण्डको खटिमा नगरमा सन् १९९७ मा जन्मिएकी बोराले दिल्ली विश्वविद्यालयबाट स्नातक र अम्बेडकर विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन्। हाल उनी जवाहरलाल नेहरू विश्वविद्यालयमा रंगमञ्च तथा प्रस्तुतिसम्बन्धी विषयमा पीएचडी गरिरहेकी छन्।
विद्यार्थी अधिकार, लोकतन्त्र र राजनीतिक सहभागिताका विषयमा मुखर रूपमा प्रस्तुत हुँदै आएकी बोरा पछिल्लो समय भारतको युवा पुस्तामाझ प्रभाव बढाउँदै गएकी नेतृका रूपमा चर्चामा छिन्। पछिल्लो आन्दोलन र सार्वजनिक अभिव्यक्तिले उनको राजनीतिक तथा सामाजिक प्रभाव थप विस्तार हुँदै गएको देखिएको छ।