असोज २२ , काठमाडौं । नेपाल र ओमानबीच कृषि, रासायनिक मल, कृषि व्यापार, जलवायु परिवर्तन, प्रत्यक्ष हवाई उडान तथा श्रम सहकार्यका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ। बिहीबार कृषि, वन तथा पर्यावरण मन्त्री र नेपाल भ्रमणमा रहेको ओमानी प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा द्विपक्षीय सहकार्यका सम्भावनाबारे छलफल गरिएको हो।
छलफलमा ओमानमा उत्पादन हुने ‘ग्रिन युरिया’ नेपालमा आयात गर्ने सम्भावना पनि अघि बढाइएको छ। नेपालमा रासायनिक मलको आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेकाले ओमानसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको मन्त्रीले बताएका छन्। सरकार–सरकार वा कम्पनी–कम्पनी संयन्त्रमार्फत मल खरिद, ढुवानी तथा पारवहन व्यवस्थापनबारे थप छलफल गर्ने तयारी छ।
त्यस्तै, नेपालबाट चिया, अलैंची, ताजा तरकारी, आँप, स्याउलगायत कृषि उपज तथा पशुजन्य उत्पादन ओमान निर्यात गर्ने सम्भावनाबारे पनि छलफल भएको छ। नेपाल–ओमानबीच कोरोना महामारीअघि सञ्चालनमा रहेको प्रत्यक्ष हवाई उडान पुनः सुरु गर्नुपर्ने विषयमा समेत ओमानी पक्षले जोड दिएको छ।
भेटवार्तामा ओमानमा कार्यरत नेपाली श्रमिकलाई थप सीपयुक्त बनाउने, सुरक्षित तथा सम्मानजनक रोजगारी विस्तार गर्ने र वैदेशिक रोजगार प्रक्रियालाई पारदर्शी बनाउने विषय पनि उठेको छ।
यस भेटले नेपाल र ओमानबीच मल आपूर्ति, कृषि व्यापार, हवाई सम्पर्क, जलवायु सहकार्य र नेपाली श्रमिकको हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गरेको बताइएको छ।